स्थानीय तह निर्वाचन २०७९ को पूर्वसन्ध्यामा अस्तित्वमा आएको नागरिक उन्मुक्ति पार्टी कैलालीका पूर्वी क्षेत्रमा पुराना दलहरुका लागि चुनौतीका रुपमा देखा परेको छ।
स्थानीय तह निर्वाचनमा टीकापुर र भजनी गरी दुई नगरपालिका र एक गाउँपालिका (जानकी) मा विजयी भएर अप्रत्यासित नतिजा ल्याएको उन्मुक्तिले प्रतिनिधिसभा निर्वाचनमा तीन निर्वाचन क्षेत्रमा अग्रता लिएको छ।
टीकापुर घटनाका मुख्यदोषी ठहर भई बन्दी जीवन बिताइरहेका रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षमा रहेको उन्मुक्तिले कैलाली–१, २ र ३ मा अग्रता लिएको हो।
उन्मुक्तिले क्षेत्र नम्बर १ मा अध्यक्ष श्रेष्ठलाई, २ मा अरुणकुमार चौधरी र ३ मा गंगाराम चौधरीलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएका छ। पछिल्लो मतपरिणाम अनुसार तीनै जनाले आ–आप्mना प्रतिष्पर्धीलाई पछि छाडेका छन्।
कैलाली–१ मा अध्यक्ष श्रेष्ठविरुद्ध सत्ता गठबन्धनले नेपाली कांग्रेसका नेता रामजनम चौधरीलाई अघि सारेको थियो। यहाँ नेकपा एमालेले तपेन्द्रबहादुर रावललाई उम्मेदवार बनाएको छ।
कैलाली–२ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका भगतबहादुर बडुवाल र ३ मा कृष्णकुमार चौधरी उम्मेदवार छन्। एमालेका तर्फबाट २ मा झपटबहादुर रावल र ३ मा गौरीशंकर चौधरी उम्मेदवार छन्।
कैलाली–२ मा ५ सय मत गणना हुँदा उन्मुक्ति पार्टीले २८१ मत पाएको छ। यहाँ सत्ता गठबन्धन र एमालेले तीन अंक जोड्न सकेका छैनन्। प्राप्त मतपरिणामअनुसार माओवादी केन्द्रको ९४ र एमालेको ६९ मत छ।
उन्मुक्ति पार्टीले कैलाली–१ र ३ मा पनि सुरुवातबाटै अग्रता लिएको छ। कैलाली–३ मा १२ हजार १६७ मत गणना हुँदा उन्मुक्ति पार्टीको पक्षमा ३ हजार ९३१ मत देखिएको छ।
यहाँ माओवादी केन्द्रले २ हजार ९३२, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले २ हजार २४४ र एमालेले २ हजार ६८ मत पाएका छन्।
Shares

प्रतिक्रिया