पञ्चायत र जनयुद्धकालमा शतप्रतिसत मत बहिस्कार गरेर चर्चा पाएको रोल्पाको थवाङमा यसपटक पनि निकै न्यून मतदान भएको छ।
थबाङ गाउँपालिकाका दुई वडा बिबाङ (वडा नं १) र थबाङ (वडा नं २) गरी दुई गाउँमा विभाजित थबाङमा २ हजार ८ सय ९१ मतदाता रहेपनि कूल मतदाताको चारगुना कम मत खसेको हो।
दुबै वडाबाट गरी जम्मा ६ सय ३६ मतमात्र खसेको थवाङमा रहेका पत्रकार गोविन सहयात्रीले जानकारी दिएका छन्।
जस अनुसार बिबाङ गाउँ समेटिएको वडा नं १ का कूल १ हजार ३ सय १४ मतमध्ये जनचच्छु प्रावि मतदान केन्द्रमा २ सय ३० मतमात्र खसेको छ।
थबाङ गाउँ रहेको वडा नं २ मा १ हजार ५ सय ७७ मतदाता रहेकोमा त्यहाँ ४ सय १९ मतमात्र खसेको छ। यहाँ वडा नं २ को वडा कार्यालय नजिकै मतदान केन्द्र थियो।
जनयुद्धकालमा माओवादीको प्रभाव रहेको थबाङमा पछिल्लो समय नेत्रबिक्रम चन्द ९बिप्लब० नेतृत्वको नेकपाको ज्यादा प्रभाव छ।
गत स्थानीय तह निर्वाचनमा थबाङ गाउँपालिकामा बिप्लब नेतृत्वको नेकपाले एमाले र नेपाली कांग्रेससँग तालमेल गरी आफ्नो तर्फबाट स्वतन्त्र उम्मेदवार उठाएपनि सफलता प्राप्त गर्न सकेको थिएन।
स्थानीय तह निर्वाचनमा नेकपाका स्थानीय नेता–कार्यकर्ताले चुनाव उपयोग गरेपनि सो पार्टीले यसपटक बहिस्कारको नीति लिएपछि त्यहाँ न्यून मतदान भएको हो।
सो पार्टीका नेता जयप्रकाश रोकाले आइतबार दिनभर मतदान केन्द्रबाहिर बसेर चुनाव बहिस्कारका लागि मतदातालाई आव्हान गरेका थिए।
Shares

प्रतिक्रिया