राजनीति


हेटौँडामा एमालेलाई झरेन कमल थापाको भोट

हेटौँडामा एमालेलाई झरेन कमल थापाको भोट

नेपालखबर
जेठ ५, २०७९ बिहिबार २३:३६, काठमाडौँ

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा मत गणना भइरहेको छ। राप्रपा छाडेका पूर्वअध्यक्ष कमल थापाको गृहनगर हेटौंडामा जारी मतगणनाले चुनावी राजनीतिमा चासो राख्नेहरुको ध्यान तान्न थालेको छ। 

राप्रपा उम्मेदवार दीपकबहादुर सिंहले अप्रत्यासित रुपमा गठबन्धन र एमाले उम्मेदवारलाई टक्कर दिएपछि हेटौंडाको मतगणनाले पनि अन्य ठूला नगरमा जस्तै सबैको ध्यान तानेको हो। 

२०४९ सालदेखि अटुट रुपमा एमालेले विजय हासिल गर्दै आएको हेटौंडा उपमहानगरपालिकाको मत गणनामा कहिले राप्रपाका सिंहले अग्रता हासिल गरिरहेका छन्, त कहिले गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी मीनाकुमारी लामाले अग्रता लिएकी छन्। 

यो छिनाझपटीमा अन्तिममा कसले बाजी मार्छ अहिल्यै भन्न सकिने अवस्था छैन।

अहिले राप्रपा उम्मेदवार सिंह तेस्रो स्थानमा झरेका छन्। उनीभन्दा एमालेका उम्मेदवार पनि अगाडि लागेका छन्। 

उता उपप्रमुखमा यति चर्को प्रतिस्पर्धा छैन। कांग्रेसका राजेश बानियाँ ६ हजार बढी मतले अगाडि छन्। राप्रपाका उम्मेदवारको मत पनि थोरै छ। उपप्रमुखमा कांग्रेसले जित्ने देखिँदा मेयरमा भने कांग्रेसको समेत समर्थन पाएकी लामालाई राप्रपा एक्लैले टक्कर दिइरहेको छ।

यो समाचार तयार पार्दासम्म लामाले १७ हजार ३४३ मत ल्याउँदा एमालेका पौडेलको १६ हजार १६३ मत छ। सिंहले १५ हजार ५१४ मत पाएका छन्। राप्रपाबाट अलग भएका कमल थापाले पनि यसपटक एमालेलाई सहयोग गरेका छन्। 

२०७४ सालको स्थानीय निर्वाचनमा कमल थापासमेत हुँदा हेटौंडामा राप्रपाका उम्मेदवारले ६ हजार ८५७ मत मात्रै पाएका थिए। त्यतिबेला निर्वाचित एमालेका उम्मेदवार हरिबहादुर महतले २३ हजार १२४ मत ल्याएका थिए। कांग्रेसले २२ हजार ५०९ मत ल्याउँदा राप्रपा प्रतिस्पर्धामै थिएन। 

तर, कमल थापासमेत अलग भएका बेला आएको राप्रपाको मतले भने तरंग ल्याएको छ। मत गणना सकिएका ५ वटा वडामा एमाले र ६ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ। वडाहरुमा राप्रपाका उम्मेदवारले खासै मत पाउन सकेका छैनन्। 

तर, राप्रपाका सिंहले ल्याएको मत भने अनपेक्षित देखिएको छ। 

राप्रपाबाट अलग भएर कमल थापासँगै राप्रपा नेपालमा गएका नेता राजाराम बर्तौला आफ्ना समर्थकको पनि मत सिंहले पाएको बताउँछन्। 

‘राप्रपा नेपालले एमालेलाई सहयोग गर्ने भनेको हो। तर, त्यहाँ कुनै लेनादेना भएन। हामी सिंहका लागि भोट माग्दै गएनौं, तर हाम्रो भोट पनि उहाँलाई गएको हो’, बर्तौलाले नेपालखबरसँग भने, ‘कांग्रेसले भोट हाल्ने ठाउँ नै पाएन। त्यहाँका असन्तुष्टको भोट पनि सिंहलाई नै गयो।’

टिकट वितरणसँगै जनमत नरहेको एकीकृत समाजवादीलाई प्रमुखमा सहयोग गरेको भन्दै कांग्रेसभित्र असन्तुष्टि देखिएको थियो। ठूला पार्टीका उम्मेदवारभन्दा स्थानीयसँग भिजेका सिंहलाई लिगेसीले पनि साथ दिएको राप्रपाका नेताहरुको बुझाइ छ। सिंह पूर्वजिल्ला विकास समितिका सभापति हुन्। पञ्चायतका बडा हाकिम मोहनबहादुर सिंहको परिवारको पनि त्यहाँ छुट्टै प्रभाव छ। 

‘एमालेसँग तालमेल भएन। हाम्रो उम्मेदवार थिएनन्। त्यसो भइसकेपछि हामीसँग २० औं वर्ष सँगै काम गरेको व्यक्ति उठेपछि हाम्रा मान्छेले पनि भोट उहाँलाई नै हाले। यसको मतलब हेटौंडामा राप्रपा नेपालको, कमल थापाको प्रभाव नै नभएको अर्थमा बुझियो भने गलत हुन्छ,’ बर्तौलाले भने। 

राप्रपाका नेता नवराज विष्टले हेटौंडामा कमल थापा पक्षको पनि साथ पाएको संकेत गरे। ‘उहाँसँगको कुरा छुट्टै छ। उहाँ हाम्रो आदर्णिय नेता नै हो। उहाँहरुले केगर्नुभो भन्ने विषयमा अहिले नबोलौं’, नेपालखबरसँग कुरा गर्दै उनले भने। 

त्यसो त यसअघिका निर्वाचनमा पटक पराजित भएका सिंह मतदातामाझ परिचित हुन्। २०५४ सालमा पनि उनी हेटौंडाको मेयरमा चुनाव लडेका थिए। त्यतिबेला पूर्वमुख्यमन्त्री डोरमणि पौडेलसँग उनी पराजित भए। 

मेयरमा पराजित भएको २ वर्षपछि संसदमा चुनाव लडे। त्यतिबेला पनि एमालेको गढ भत्काउन राप्रपा असफल भयो। हालका स्वास्थ्यमन्त्री विरोध खतिवडाले सिंहलाई पराजित गरे। 

१४ वर्षपछि पनि सिंहले चुनाव लड्दा पुरानै प्रतिस्पर्धी पाए र नतिजा पनि पुरानै निस्कियो। २०७० सालको संविधान सभा निर्वाचनमा विरोध खतिवडाले दोश्रो पटक चुनाव जित्दा सिंह फेरि पराजित भए। 

पटक–पटक चुनाव लड्दा हेटौंडाका जनतासँग उनको घुलमिल पनि बढ्दै गएको थियो। तर राप्रपाका नेता बिष्ट पछिल्लो समय राप्रपाको प्रभाव पनि बढ्दै गएको दाबी गर्छन्। 

उनी भन्छन्, ‘हाम्रा उम्मेदवारले निर्वाचित भयौं भने भ्रष्टचार गर्दैनौं भनेर मन्दिरमा गएर कसम खाएका छन्। जनता पूरानै अनुहारबाट आजिर हुँदै गएपछि पनि हामीलाई मत दिएका हुन्।’
  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad