बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन आउँदो सोमबारका लागि आह्वानका लागि प्रदेश प्रमुख सिफारिश गर्ने निर्णय गरेको छ।
बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले आउँदो सोमबार प्रदेश सभा बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता प्रभात तामाङका अनुसार बजेट अधिवेशन जेठ ११ गतेदेखि सञ्चालन हुनेछ।
यससँगै मन्त्रिपरिषद्ले मन्त्रालयहरूको संख्या घटाइएपछि नयाँ संरचनाअनुसार जिम्मेवारी र कार्यक्षेत्र व्यवस्थापन गर्न प्रदेश सरकारको कार्यविभाजन नियमावली संशोधन गर्ने निर्णय पनि गरेको छ। तामाङका अनुसार मन्त्रालयहरूको पुनर्संरचनापछि कार्यक्षेत्रमा स्पष्टता ल्याउन नियमावली परिमार्जन गरिएको हो।
त्यस्तै, स्वास्थ्य मन्त्रालय अन्तर्गतका अस्पतालमा प्रशासनिक नेतृत्व व्यवस्थापन गर्ने क्रममा भक्तपुर अस्पतालमा डा. त्रिलोचनचन्द्र झा र धादिङ अस्पतालमा डा. नवीन मासिठलाई मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु)का रूपमा पदस्थापन गर्ने निर्णय गरिएको प्रवक्ता तामाङले बताए।
Shares

प्रतिक्रिया