राजनीति


ईश्वर पोखरेललाई समर्थन गरेका एमाले मकवानपुरका अध्यक्ष नै महाधिवेशन प्रतिनिधिमा पराजित

ईश्वर पोखरेललाई समर्थन गरेका एमाले मकवानपुरका अध्यक्ष नै महाधिवेशन प्रतिनिधिमा पराजित

सुनिता विष्ट
मंसिर १४, २०८२ आइतबार १०:५८, हेटाैँडा

नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि मकवानपुरबाट १७ जना प्रतिनिधि चयन हुँदा पार्टीका जिल्ला अध्यक्ष भने पराजित भएका छन्। प्रतिनिधि सभा क्षेत्र नम्बर २ का प्रतिनिधि सर्वसम्मत रुपमा चयन हुँदा क्षेत्र नम्बर १ मा निर्वाचन प्रक्रियाबाट प्रतिनिधि छनौट गरिएको छ। 

प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार रहेका एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरल आफैँ प्रतिनिधि बन्न सकेनन्। उनी मतदान हुँदा पराजित भएका हुन्। 

श्रीमतीको उपचारका लागि हाल वीर अस्पतालमा रहेका अध्यक्ष पोखरेलले अस्पतालबाटै वारेस मार्फत उम्मेदवारी दर्ता गराएका थिए। 

उनको पक्षमा ३३४ मत मात्रै खसेको छ। आफू प्रतिनिधिको निर्वाचनमा पराजित भएपछि उनले मतदातालाई धन्यवाद दिदैँ यसको समीक्षा हुने बताएका छन्। 

खुल्ला तर्फ ४ जना प्रतिनिधि छनौटका लागि १७ जना उम्मेदवार चुनावी मैदानमा थिए। जसमा अन्तिम मत परिणाम अनुसार नवीन सिग्देल, फूर्वा दोर्जे लामा, अणराज जर्गा मगर र सुनिल मोक्तान निर्वाचित हुँदा अध्यक्ष पोखरेल सहित खुलातर्फ १३ जना पराजित भएका हुन्।

आइतबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै अध्यक्ष पोखरेलले भनेका छन्, ‘भ्रामक प्रचारका बाबजुद पनि मलाई मतदान गर्ने कमरेडहरुलाई धन्यवाद र समीक्षा गरौं किन २० प्रतिशत भन्दा कम मतदान भयो?’ 

उनले खुलेरै एमालका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षमा समर्थन गर्ने जनाएका थिए। 

महाधिवेशनका लागि मकवानपुर क्षेत्र नम्बर १ बाट अणराज जर्गा मगर, नवीन सिग्देल, फुर्वादोर्जे लामा, सुनिल मोक्तान, आरती पाठक, विना कुमारी थिङ, सीता विष्ट र बोलबहादुर कार्की प्रतिनिधिमा निर्वाचित भएका हुन्। 

यस्तै, क्षेत्र नम्बर २ बाट हिदम लामा, एकालाल श्रेष्ठ, बलराम बल, भगवती पुडासैनी, रोहण लामा, सुमित्रा काफ्ले, विदुर हुमागाईँ र गीता काफ्ले र देवकृष्ण विक निर्विरोध चयन भएका छन्। 

मकवानपुरबाट छनौट भएका प्रतिनिधि सबै एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad