ad ad

राजनीति


स्ववियु निर्वाचनको मुखमा नेविसंघ मकवानपुरमा भाँडभैलो, अध्यक्ष नै दुईजना

स्ववियु निर्वाचनको मुखमा नेविसंघ मकवानपुरमा भाँडभैलो, अध्यक्ष नै दुईजना

फाइल तस्बिर


नेपालखबर
फागुन २९, २०७९ सोमबार १७:५२, हेटौंडा

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको संघारमा नेविसंघ मकवानपुरको विवाद उत्कर्षमा पुगेको छ। 

स्ववियु निर्वाचनको तयारीमा जुट्नुपर्ने बेला नेविसंघ मकवानपुरमा दुई अध्यक्ष भएपछि विवाद बढेको हो। अध्यक्षमा सुवास सापकोटा र भीषण ठकुरीको दाबीले कांग्रेसमा समेत विवाद देखिएको छ।

कांग्रेस मकवानपुरको दुई गुटको प्रभाव स्ववियु निर्वाचनमा पनि परेको छ। स्थानीय निर्वाचनदेखि आमनिर्वाचनसम्म देखिएको विवाद बढ्दै अब स्ववियु निर्वाचनमा पनि आइपुगेको छ। 

जिल्लामा नेविसंघका दुई अध्यक्ष कायमै रहेपछि स्ववियु निर्वाचनमा असर पर्ने देखिएको छ।

केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले नेविसंघ मकवानपुरको अध्यक्षमा एकजनालाई र प्रदेश तथा जिल्ला समितिले अर्कालाई नियुक्त गर्दा लफडा चुलिएको छ। 

केन्द्रीय अध्यक्ष शेर्पाले सुटुक्क भीषण ठकुरीलाई अध्यक्षमा नियुक्त गरेको भन्दै अहिले उनकै राजीनामा मागिएको छ। 

सुवास सापकोटा जिल्ला समितिको निर्णयबाट अध्यक्ष भएको भन्दै आफू नै आधिकारिक भएको दाबी गरिरहेका छन्।  

शेर्पाले जिल्ला अध्यक्षमा नियुक्त गरेर पठाएका ठकुरीले  केन्द्रको निर्णय मान्नुपर्ने बताए। 

‘कांग्रेस बागमती कार्यालयमा एकलौटी अध्यक्ष नियुक्त गरियो। यो मान्य छैन। केन्द्रले अध्यक्ष बनाएको मान्छेलाई आधिकारिक भन्ने कि? जिल्ला र प्रदेशका केही पदाधिकारीले गरेको निर्णय आधिकाररिक हुने भन्ने हो', उनले भने, 'केन्द्रको निर्णय नै सदर हुने भएकोले म नै नेविसंघको अध्यक्ष हुँ। यसमा कुनै अलमल छैन।’ 

स्ववियु निर्वाचनका लागि अर्कैले दल दर्ता गरेपछि ठकुरी समूह आक्रोशित छन्। ‘नेविसंघलाई नै बाहिर राखेर दल दर्ता भयो। निर्वाचन समिति एकलौटी ढंगले गयो। यो भन्दा अघि नेविसंघ जिल्ला अध्यक्षमा राजु खतिवडा हुनुहुन्थ्यो', उनले भने, 'उहाँ माथिल्लो पोष्टमा जानुभएपछि रिक्त पदमा गत १९ गते राति मैले नियुक्ति पत्र पाएको हुँ। म पुग्नुअघि नै दल दर्ता भइसकेको रहेछ। हामीले यसैको विरोध गरेका हौँ।’ 

ठकुरीका अनुसार सापकोटालाई नेसिवसंघको अध्यक्ष मान्न नसकिने तर दाबेदार मान्न सकिने बताउँछन्। 

कांग्रेस मकवानपुर सर्वसम्मत आधिकारिक अध्यक्षमा नियुक्त भएका सापकोटा मात्रै रहेको दाबी गर्दै आएका छन्। 
‘स्ववियु निर्वाचनका लागि मेरो संयोजकत्वमा ८ वटै क्याम्पसमा नेविसंघले दल दर्ता गराइसकेको छ,’ उनले भने,‘यसैलाई आधार मान्ने हो भने पनि म नै आधिकारिक हुँ भनेर पुष्ट्याँइ गरिरहन पर्ला जस्तो मलाई लाग्दैन।’ 

जिल्ला समितिले माघ २८ गते नै आफूलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको बताउँदै सापकोटाले पछिल्लो समय कांग्रेस र कांग्रेसको भातृ संगठनलाई कमजोर पार्न अराजकत व्यक्तिहरु लागिपरेको बताए। 

शनिबार स्ववियु निर्वाचनका लागि नेविसंघका सापकोटा समूह र ठकुरी समुहले छुट्टाछुट्टै मनोनयन दर्ता गराएका थिए। आइतबार साँझ क्याम्पसले सूचना जारी गर्दै सापकोटा समूहको नेविसंघलाई आधिकारिकता दिएपछि ठकुरी समूहले असन्तुष्टि जनाएको हो।

गत फागुन १९ गते स्ववियु निर्वाचनका लागि सापकोटा समुहको नेविसंघले क्याम्पसमा दल दर्ता गराएको थियो । गत फागुन १९ गते नै नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले नेविसंघ मकवानपुरको अध्यक्ष भीषण ठकुरीलाई तोकेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .