राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निम्तो मान्न दुई द्विवसीय राजकीय भ्रमणमा नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाली मौलिक नृत्यसहितको स्वागतमा मन्त्रमुग्ध देखिएका थिए। नेपालमा झण्डै २२ घण्टा रहँदा नेपालीले गरेको स्वागत सत्कारमा उनको मुद्रा खुसी देखिन्थ्यो
आज स्वदेश फर्कनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनको बिदाइ स्वरुप आयोजना गरिएको मौलिक नृत्यमा उनी केही बेर टक्क अडिए। नृत्य अवलोकनका समय उनको मुहारमा मन्द मुस्कान झल्किएको भयो। उनका सामु कलाकारले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी कौरा, थारु नाच, सुर्खेती झ्याउरे, साकेला, तराईको झिंझिया, काठमाडौँको नेवारी र कर्णालीको हुड्केली नाच प्रस्तुत गरेका थिए।
त्यसो त नेपाली मौलिक पोशाकमा सजिएर उनको बिदाइमा लामबद्ध विद्यार्थी र बालबालिकासँग औधी रमाउँदै उनले केही बेर भलाकुसारीसमेत गरे। बालबालिकाले चिनियाँ भाषाको प्रयोग गरेर नेपाल भ्रमण गर्नुभएकोमा यहाँलाई धेरैधेरै धन्यवाद भन्दै भेट्न पाएकोमा खुसी व्यक्त गर्दा र बिदाइको हात हल्लाउँदा चिनियाँ भाषामै उनले बालबालिकालाई धन्यवाद फर्काएका थिए।
विमानस्थलको विशिष्ट कक्षमा बालबालिका र विद्यार्थीले नेपाली र चिनियाँ झण्डा फहराएर शनिबार उनको स्वागत र आइतबार बिदाइ गरेका थिए। स्वागतका क्रममा बालबालिकासँग निक्कै खुसी देखिएका राष्ट्रपति सी बिदाइका क्रममा नेपालको सातै प्रदेशको पहिचान झल्कने मौलिक पोशाक लगाएर कलाकारले प्रस्तुत गरेको नृत्यमा भरपुर मनोरञ्जन लिए।
एक जना बालिका भिन्तुना श्रेष्ठ चीनका राष्ट्रपति सीलाई नजिकबाट देख्न र आफ्नो मौलिक पहिचान देखाउन पाउँदा निक्कै खुसी लागेको प्रतिक्रिया दिइन्। सीको शारीरिक हाउभाउले नै नेपालीको न्यानो स्वागत र मौलिक नृत्यबाट प्रभावित भएको प्रष्टिन्थ्यो। त्यसो त शनिबारको रात्रीभोजका क्रममा उनीले नेपालीको सामाजिक सद्भाव देख्दा हर्षित भएको प्रतिक्रिया दिएका थिए।
त्यसो त दुईदिने भ्रमणका क्रममा आउँदा र जाँदा नै विमानस्थलदेखि राष्ट्रपति भवन र निवास होटल सोल्टीको सडकसम्मै सजाइएको दृष्यले उनलाई प्रफुल्लित बनाएको विश्वास गर्न सकिन्छ। राष्ट्रपति सीले विमानस्थलमा प्रवेश गर्नुअघि विशिष्ट कक्षको अन्तिम द्वारमा पुगेपछि पुनः फर्किएर हात हल्लाउँदै सबैलाई अभिभावदन गर्दा विशिष्ट कक्ष बिदाइका स्वरले गुञ्जिएको थियो। सो क्रममा कलाकार र बालबालिकाले पुष्पगुच्छा र दुवै देशको झण्डा फहराएर बाईबाई गरेका थिए।
आज राष्ट्रपति भण्डारीले आफ्ना चिनियाँ समकक्षी सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पुगेर बिदाइ गगरेकी थिइन्। यसैगरी चिनियाँ विशिष्ट अतिथिलाई उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीलेले बिदाइ गरेका थिए।
चिनियाँ राष्ट्रपतिको बिदाइका लागि विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीद्वय ईश्वर पोखरेल र उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूत तथा यहाँस्थित चिनियाँ दूतावासका उच्च अधिकारी र सरकारी अधिकारीको उपस्थिति थियो। उनलाई नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी तथा सम्मान गारत प्रदान गरेको थियो।
भ्रमणका क्रममा सर्वसाधारण, सरकारी कर्मचारी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुले उहाँलाई सडकमै बसेर स्वागत गरेका थिए। उनको स्वागत तथा सम्मानका लागि काठमाडौँका विभिन्न क्षेत्र चिटिक्क पारिएको थियो। शनिबार अपराह्न ४ः४५ बजे विमानस्थल टेकेका सीले झण्डै २२ घण्टा नेपालमा रही आज अपराह्न २ः४४ मा स्वदेश फर्के
उनको बिदाइ र स्वागतमा विभिन्न जातजातिको पहिचान झल्कने झाँकी, पञ्चैबाजा र नाचसमेत प्रदर्शन गरिएको थियो। कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डल, बबरमहल, नयाँबानेश्वर, तीनकुने र विमानस्थलद्वारसम्म उनको बिदाइका लागि सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो।
राष्ट्रपति सीलाई स्वागतका लागि स्वागतद्वार, परम्परागत संस्कृति झल्कने ब्यानर, सडकको दुवैतर्फ फूलसमेत राखिएको थियो। ‘सर्वोच्च शिखर सगरमाथाजस्तै उँचो नेपाल चीन मैत्री’, ‘नेपाल चीन मित्रता विशाल, गहन र अटल’, ‘बुद्ध र सगरमाथाको देशमा हार्दिक स्वागत छ’, लेखिएका ब्यानर र स्वागतद्वार बनाइएका थिए।
भ्रमणका क्रममा उनले राष्ट्रपति भण्डारीसँग भेटवार्ता र प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गरेका थिए। चिनियाँ विशिष्ट पाहुनाको स्वागतमा राष्ट्रपति भण्डारीले शनिबार आयोजना गरेको राजकीय भोजमा सरिक हुँदै सीले दुई देशको मित्रता अझै प्रगाढ बनेर जाने प्रतिबद्धता जनाएका छन्। राष्ट्रपति भण्डारीले पनि दुई देशको सम्बन्ध सगरमाथा जस्तै उच्च र सागर जस्तै गहिरो रहेको भन्दै भ्रमणले सम्बन्धमा अझै उचाइमा थपेको उल्लेख गरेकी थिइन्। भ्रमणका क्रममा आज सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षरसमेत भएको छ।
यसअघि उनले बिहान नेपाल कम्युष्निट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका थिए भने अन्य नेताहरुसँग भेटघाट गरी दुई देशबीच सरकार, जनता र कम्युनिष्ट पार्टी तहमा राजनीतिक सम्बन्धको दायरा र आयामलाई विस्तार गर्न आग्रह गरेका थिए। शनिबार साँझ उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए।
Shares

प्रतिक्रिया