छापा खबर


चीन पर्यटनमा दोस्रो, हवाईमा पहिलो

चीन पर्यटनमा दोस्रो, हवाईमा पहिलो

नेपालखबर
असोज २६, २०७६ आइतबार २३:५३,

चिनियाँ राष्ट्रपति सी चिनफिङले डेढ महिनापछि सुरु हुन लागेको ‘नेपाल भम्रण वर्ष २०२०’ लाई मद्दत गर्ने उद्देश्यले आफ्ना नागरिकलाई नेपाल घुम्न उत्प्रेरित गर्ने बताएपछि सरोकारवालाहरू उत्साहित भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार आयोजना गरेको राजकीय रात्रिभोजमा सीले आफ्ना नागरिकलाई नेपाल घुम्न पठाउने प्रतिबद्धता जनाएपछि उनको भ्रमण पर्यटन क्षेत्रका लागि झन् महत्त्वपूर्ण भएको पर्यटनमन्त्री योगेश भट्टराईले बताएका खबर आजको कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन्।

‘भम्रण वर्ष मनाउने तयारीमा रहेका बेला उहाँले आफ्ना नागरिकलाई नेपाल घुम्न उत्प्रेरित गर्ने बताउनुले ठूलो महत्त्व राख्छ,’ भट्टराईले भने। सीले शीतलनिवासमा आयोजित द्विपक्षीय वार्तामा पनि यस्तै प्रतिबद्धता जनाएको उनले जानकारी दिए।

आगामी वर्ष चिनियाँ पर्यटकको संख्या ५ लाख पुग्ने प्रक्षेपण पर्यटनमन्त्री भट्टराईले गरेका छन्। सन् २०१८ मा नेपालमा ११ लाख ७३ हजार विदेशी आएका थिए। यीमध्ये सबैभन्दा धेरै भारतबाट २ लाख आएका थिए भने दोस्रो स्थानमा परेको चीनबाट नेपाल घुम्न आउने पर्यटकको संख्या १ लाख ५३ हजार थियो।

सन् २०१७ मा पनि चीन दोस्रो स्थानमै थियो। पर्यटनमन्त्री भट्टराईले केही महिनामै नेपाल र चीनबीच हवाई सञ्जाल वृद्धि हुन गइरहेकाले चिनियाँ पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गरे।

ट्रेकिङ एजेन्सिज अफ नेपाल ९टान० का महासचिव सरिता लामाका अनुसार नेपाल आउने चिनियाँमध्ये अधिकांशले काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा र चितवन घुम्न रुचि राख्ने गरेका छन्।

हवाईतर्फ चीनबाट सातामा कम्तीमा ६० वटा उडान हुने गरेका छन्। नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा सबैभन्दा धेरै उडान गर्नेमा चीन पहिलो स्थानमा छ।

चीनका ५ वटा र हङकङको क्याथे ड्र्यागनसहित ६ वटा एयरलाइन्सले सातामा ५४ वटा उडान गर्दै आएका छन्। चीनपछि भारत दोस्रो स्थानमा छ।

भारतका दुइटा एयरलाइन्सले भारतको दिल्ली, मुम्बई र कोलकाताबाट काठमाडौंमा सातामा ३६ वटा उडान गर्छन्। हाल काठमाडौंमा २५ वटा विदेशी र तीनवटा नेपाली एयरलाइन्ससहित २८ वटा कम्पनीले सेवा दिइरहेका छन्। यी एयरलाइन्सले दैनिक ४५ हाराहारी उडान गर्छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad