ad ad

राजनीति


सी-प्रचण्ड एक्लाएक्लै भेटवार्ता तय

सी-प्रचण्ड एक्लाएक्लै भेटवार्ता तय

सागर न्यौपाने
असोज २४, २०७६ शुक्रबार १७:२५,

चीनका राष्ट्रपति सी चिनफिङ र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच एक्लाएक्लै करिब ४५ मिनेट भेटवार्ता तय भएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका राष्ट्रपति सी र अध्यक्ष प्रचण्डबीच आइतबार बिहान साढे १० बजे होटल सोल्टीमा ‘वान अन वान’ भेटवार्ता तय भएको हो।

अध्यक्ष प्रचण्ड निकट रहेर चिनियाँ कम्युनिष्ट पार्टीसँग पनि राम्रो सम्बन्ध बनाएका नेकपा स्थायी समितिका एक जना सदस्यका अनुसार दुई पार्टीका प्रमुखका हिसावले एक्लाएक्लै भेटवार्ता तय भएको हो।

‘राष्ट्रपति सीसँग आइतबार बिहान साढे १० बजे होटल सोल्टीमा अध्यक्ष प्रचण्डको भेटवार्ता तय भएको छ’, प्रचण्ड निकट स्थायी समितिका ती सदस्यले भने, ‘प्रचण्ड र सीबीच करिब ४५ मिनेट एक्लाएक्लै भेट्ने निश्चित भएको छ।’

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति सीसँगको दुई पक्षीय वार्तामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्नेछन्। अध्यक्ष प्रचण्डले चाहिँ पार्टीको प्रतिनिधि मण्डलको नेतृत्व गर्ने र त्यो टोलीमा अध्यक्ष ओली बाहेकका सचिवालयका सात सदस्य रहने अनुमान गरिएको थियो।

नेकपाको प्रतिनिधिमण्डलस्तरमा सीसँग भेटवार्ता तय भएको होइन र?

नेपालखबरको प्रश्नमा ती नेताले भने, ‘अहिलेसम्म एक्लाएक्लै भेट मात्र तय भएको छ, प्रतिनिधिमण्डलस्तरमा हुने भेटवार्ताबारे जानकारी आएको छैन।’

सी–प्रचण्ड एक्लाएक्लै भेटवार्ता हुने चर्चाले नेकपामा तरंग ल्याएको छ। राष्ट्रपति सीसँग प्रचण्डको यो भेट संभवतः चौथो हो। सन् २०१३ मा राष्ट्रपति भएलगत्तै सीले तत्कालीन एकीकृत माओवादीका अध्यक्ष रहेका प्रचण्डलाई एक्लै बेइजिङ निम्त्याएर भेटवार्ता गरेका थिए। त्यसपछि सीसँग प्रचण्डको भेट दोस्रो पटक प्रधानमन्त्री भएपछि बेइजिङमा र ब्रिक्स–बिमस्टेक आउटरिचमा सहभागी हुने क्रममा भारतको गोवामा भएको थियो।

एक मिहनाअघि राष्ट्रपति सी भ्रमणको तयारीकै क्रममा नेपाल आएका चीनका विदेशमन्त्री वाङ यीसँग पनि प्रचण्डले एक्लै भेटवार्ता गरेका थिए। वाङसँग अमेरिकाले अगाडि बढाएको ‘इण्डो प्यासेफिक रणनीतिलाई ‘कथित’ भन्दै ‘नेपालले अस्वीकार गर्ने’ बताएको कुरा बाहिर आएपछि प्रचण्ड केही विवादमा परेका थिए।

नेकपा स्थायी समितिका ती नेताका अनुसार अध्यक्ष प्रचण्डले नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध, नेकपाको बुहमतको सरकारले लिएका निर्णय तथा नेपाल–चीन सम्बन्ध र क्षेत्रीय राजनीतिबारे आफ्ना धारणा राख्ने तयारी गरेका छन्।

शुक्रबार चितवनमा आयोजित एक कार्यक्रममा प्रचण्डले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण आउने जानेमा मात्रै सिमित नहुने बताएका थिए।

‘चीनका राष्ट्रपतिको भ्रमणबाट बहुआयामिक लाभ हासिल गरिने छ’, उनले भनेका थिए, ‘शक्तिशाली सरकार रहेको बेला राष्ट्रपति सीको भ्रमणको महत्व उच्च छ, यो भ्रमण आउने र जानेमा मात्र सिमित हुँदैन।’

सी-देउवा भेट पनि एक्लाएक्लै
सी आफ्नो पहिलो दुई दिने नेपाल भ्रमणका क्रममा शनिबार अपरान्ह काठमाडौं उत्रँदैछन्। काठमाडौं उत्रेपछि विमानस्थलबाट सी होटल सोल्टी जाने र त्यहाँ केही समय आराम गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितल निवास जाने कार्यक्रम छ।

साढे ६ बजेबाट राष्ट्रपति भण्डारी र सीबीच करिब ४५ मिनेट वार्ता तय भएको छ।

होटल फर्केपछि सवा ७ बजे सीले नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्ने तय भएको उनको सचिवालयले जनाएको छ।

कांग्रेसका सहमहामन्त्री तथा पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतका अनुसार सीसँग भेट्न सभापति देउवा एक्लै जाने निश्चित भएको छ।

‘शनिबार साँझ सवा ७ बजेदेखि सभापतिले राष्ट्रपति सीसँग भेट्ने निश्चित भएको छ तर कति अवधि भन्ने खुलाइएको छैन’, सहमाहामन्त्री महतले नेपालखबरसँग भने, ‘यसअघि कांग्रेसका पदाधिकारी नै भेट्न जाने भन्ने परेपनि भेटवार्ता एक्लाएक्लै तय भएकाले सभापति मात्रै जानुहुन्छ।’

सी-देउवा भेटवार्तापछि राष्ट्रपति भण्डारीले चीनका राष्ट्रपति सीको सम्मानमा साढे ७ बजे सोल्टी होटलमै रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ।

आइतबार बिहान अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेपछि सवा ११ बजेदेखि सीले नेतृत्व गर्ने चिनियाँ प्रतिनिधिमण्डल र प्रधानमन्त्री ओलीले नेतृत्व गर्ने नेपाली प्रतिनिधिमण्डलबीच दुई पक्षीय औपचारिक वार्ता हुनेछ।

संभवतः औपचारिक वार्ताअघि राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच एक्लाएक्लै भेटवार्ता हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .