ad ad

राजनीति


चिनियाँ राष्ट्रपतिको भ्रमणमा कांग्रेसको जोडः रेल होइन सडक बिस्तार

चिनियाँ राष्ट्रपतिको भ्रमणमा कांग्रेसको जोडः रेल होइन सडक बिस्तार

नेपालखबर
असोज २३, २०७६ बिहिबार १२:२,

नेपाली कांग्रेसका नेताहरुले चीनसँग रेल नभै सडक निर्माण र विस्तारमा जोड दिनुपर्ने बताएका छन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको बारेमा प्रधानमन्त्रीले आयोजना गरिएको परामर्श बैठकमा सुझाव दिने क्रममा कांग्रेसका नेताहरुले धेरै खर्च लाग्ने रेल नभै चीनसँग सडक सञ्जाल निर्माणमा जोड दिनुपर्ने बताएका हुन्।

सीको भ्रमणको दुई दिनअघि आयोजना गरिएको परामर्श बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व परराष्ट्रमन्त्री रहेको कांग्रेसका नेताहरु रामशरण महत, प्रकाशशरण महत र सुजाता कोइराला बोलेका थिए। बैठकमा कोइराला बाहेक अन्य नेताहरुले रेल बनाउन धेरै रकम लाग्ने भन्दै ऋण लिएर बनाउन भन्दा पनि उत्तर दक्षिण जोड्ने सडकमा जोड दिएका थिए।

‘बैठकमा विपक्षी दल नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला बाहेक अन्य नेताहरुले ठूलो खर्च गरेर रेल बनाउनु भन्दा उत्तरतर्फ सडक सञ्जालले जोड्नु पर्नेमा जोड दिनु भएको थियो,’ बैठकमा सहभागी एक नेताले भने, ‘पूर्व परराष्ट्रमन्त्री सुजाता कोइराला मात्रै चीनसँग रेल सञ्जालमा जोडिनुपर्ने बताउनु भयो।’

बैठकमा विपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्रीको हैसियतामा देउवा तथा रामशरण महत, प्रकाशशरण महत, र सुजाता कोइराला पूर्व परराष्ट्रमन्त्रीको रुपमा सहभागि भएका थिए। बैठकमा देउवाले देशै एकजुट भएर सीको स्वागत गर्ने बताएका थिए।

राष्ट्रपति सीको भ्रमणको सन्दर्भमा पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री, चीनका लागि नेपालका पूर्व राजदूतहरु तथा चीन ममिलाका विज्ञहरुसँग बिहीबार परामर्श बैठक आयोजना गरिएको थियो। शनिबारबाट हुने दुई दिने भ्रमणको क्रममा हिमाल आरपार रेल सञ्जाल विस्तार, सडक निर्माणसहित विभिन्न विषयमा छलफल र सहमति हुने बताइएको छ। जसमा काठमाडौं रसुवागढी, काठमाडौं तातोपानी सडकको स्तोरोन्नती, धनकुटा किमन्थाङ सडक निर्माण, जलविद्यु्त् आयोजनाको निर्माणसहित विभिन्न विषयमा सहमति हुने अधिकारीहरुले जनाएका छन्।

बैठकमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसहितका नेताहरुको सहभागिता रहेको थियो। बैठकमा लिपुलेकको विषयदेखि मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) सम्मको विषयमा नेताहरु तथा विज्ञहरुले सुझाव दिएका थिए।

बैठकमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ६ बुँदे सुझाव दिएका थिए। जुन बैठक लगत्तै भट्टराईले ट्विटरमार्फत सार्वजनिक गरेका छन्। जसमा उनले चिनियाँ रेलको सञ्जालमा जोडिने तर ऋण र अनुदानको सन्तुलन मिलाएर ऋणजालमा नफस्ने नीति लिनुपर्नेमा विषयमा जोड दिएका थिए।

‘चीनसँग रेल, सडक आदि सञ्जाल विस्तारमा जोड दिने, रेल बनाउँदा ऋणजालमा नफस्ने, अनुदान र ऋणको सन्तुलन मिलाउने, सडकमा बढी जोड दिने, कर्णाली–गण्डकी–कोशी कोरिडोरलाई प्राथमिता दिने’ सुझाव दिएको आफ्नो ट्वीटमार्फत जानकारी गराएका थिए। बैठकमा भट्टराईले नेपालले बीआरआई, इन्डो प्यासेफिक रणनीति दुवैबाट फाइदा लिनुपर्नेमा जोड दिएका थिए। बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भ्रमणमा भैरहेको तयारीको विषयमा जानकारी गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .