ad ad

राजनीति


सी भ्रमणमा सुपुर्दगी सन्धिमा हस्ताक्षर हुँदैनः मन्त्री ज्ञवाली

सी भ्रमणमा सुपुर्दगी सन्धिमा हस्ताक्षर हुँदैनः मन्त्री ज्ञवाली

नेपालखबर
असोज २३, २०७६ बिहिबार ७:२५,

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको क्रममा सुपुदर्गी सन्धिमा हस्ताक्षर नहुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बिहान भएको बैठकमा मन्त्री ज्ञवालीले सन्धिको विषय छलफलमा रहेका जनाउँदै राष्ट्रपति सी भ्रमणको क्रममा यसमा सम्झौता नहुने बताएका हुन्।

पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री, चीनका लागि पूर्व नेपाली राजदूत तथा चीन ममिलाका जानकारहरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको परामर्श बैठकमा मन्त्री ज्ञवाली सरकारले गरेको तयारीबारे ब्रिफिङ गरेका थिए।

‘सुपुर्दगी सन्धिको विषय अहिले छलफलकै चरणमा छ, यो भ्रमणको क्रममा त्यो सन्धिमा हस्ताक्षर हुँदैन’, परराष्ट्रमन्त्री ज्ञवालीलाई उद्धृत गर्दै बैठकमा सहभागी पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतले भने।

‘म लगायत अन्य केही साथीहरुले सुपुर्दगी सन्धिको विषयमा सरकारको तयारीबारे सोधेका थियौं’, महतले भने, ‘परराष्ट्रमन्त्री ज्ञवालीले अहिले त्यो एजेण्डामा छैन भन्नुभायो।’

बैठकमा पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि सुपुर्दगी सन्धिको विषय संवदेनशील रहेको भन्दै सबैलाई विश्वासमा लिएर अघि बढ्न सुझाव दिएका थिए।

‘चीनसँग हुने सुपुर्दगी सन्धिमा भारत र पश्चिमा देशहरुको पनि चासो रहेको छ, सबैलाई विश्वासमा लिएर मात्रै सन्धि गर्नुपर्छ,’ देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी कांग्रेसका एक नेताले भने।

प्रधानमन्त्री ओलीले २०७५ असार पहिलो साता जनवादी गणतन्त्र चीनको भ्रमण गरेका थिए। दोस्रो पटक प्रधानमन्त्री भएको ५ महिनापछि बेइजिङ पुगेका उनले त्यतिबेला सुपुर्दगी सन्धिका लागि नेपाल तयार रहेको प्रतिबद्धता जनाएका थिए। भ्रमण लगत्तै जारी १४ बुँदे संयुक्त विज्ञप्तिमा समेत सो विषय परेको थियो।

त्यही प्रतिवद्धताअनुसार चीनले सोधेपछि नेपालले सुपुर्दगी सन्धि गर्ने तयारी अगाडि बढाएको थियो। एक जना मन्त्रीले नेपालखबरलाई दिएको जानकारी अनुसार दशैंअघि बसेको मन्त्रीपरिषदले चीनसँग सुपुर्दगी सन्धि गर्ने गरी मस्यौदा अनुमोदन गरिसकेको छ।

छलफलमा सहभागी कांग्रेस नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतले सरकारले रेल, सडक र व्यापारका विषयमा सम्झौता गर्ने तयारी गरेको जानकारी दिएको बताए।

महतका अनुसार छलफलमा चीनसँग सम्झौता हुने भनिएको बहुप्रतीक्षित केरुङ–काठमाडौं रेलमार्गका विषयमा पनि चर्चा भएको थियो। चीनले राष्ट्रपति सीको नेपाल बसाइका क्रममा केरुङ–काठमाडौं रेलमार्गको सम्झौता गर्ने विषयलाई प्राथमिकता दिएको छ।

नेपालको पक्षमा र हितमा हुनेगरी रेलमार्गमा सम्झौता गर्न सुझाव दिएको महतले बताए।

‘चीनका राष्ट्रपतिको हुन लागेको ऐतिहासिक उच्चस्तरीय भ्रमणमा सम्झौता गर्ने विषय पारदर्शी हुनुपर्ने, व्यापार घाटा कम गर्नेगरी कुरा राख्नुपर्ने र रेलमार्गमा लगानीका विषयमा पहिल्यै सहमति गरेर मात्रै सम्झौता गर्न सुझाव दिएका छौं’, महतले नेपालखबरसँग भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .