राजनीति


सी बेइजिङ उडेपछि मात्रै फर्कनेछन् ३३ तिब्बती शरणार्थी प्रतिनिधि

सी बेइजिङ उडेपछि मात्रै फर्कनेछन् ३३ तिब्बती शरणार्थी प्रतिनिधि

चन्द्रलाल गिरी
असोज १९, २०७६ आइतबार १३:५४,

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको समयमा नेपालमा रहेका तिब्बती शरणार्थीका अगुवाहरु भारतमै रहने भएका छन्।

दलाई लामाका नेपाल प्रतिनिधि सुल्ठिम ग्यात्सोसहितका ३३ जना प्रतिनिधि अहिले भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा निर्वासित तिब्बत सरकारले आयोजना गरेको विशेष धार्मिक सम्मेलनमा सहभागी भइरहेका छन्, जो राष्ट्रपति सीको भ्रमणपछि मात्रै नेपाल फर्कने छन्।

असोज २५ गते राती काठमाडौंमा बिताउने गरी राष्ट्रपति सीको दुई दिने नेपाल भ्रमण कार्यक्रम तय भएको छ। नेपालबाट धर्मशाला पुगेका तिब्बतीहरु यो समयमा नेपाल फर्किन चाहेका छैनन्। अर्कोतिर नेपाली सुरक्षा निकायले पनि उनीहरुलाई अहिले उतै रोक्ने रणनीति अपनाएको पाइएको छ।

निर्वासित तिब्बत सरकारको धर्म तथा संस्कृति मन्त्रालयले आयोजना गरेको १३औं विशेष धार्मिक सम्मेलनमा भाग लिन तिब्बती शरणार्थीका मुख्य प्रतिनिधिहरु असोज दोस्रो साता धर्मशाला गएका हुन्। सो विशेष धार्मिक सम्मेलन असोज १६ देखि १८ सम्म चलेको थियो। २४ देशमा छरिएर रहेका तिब्बती शरणार्थीका ३ सय ४५ जना प्रतिनिधि सो धार्मिक सम्मेलनमा सहभागी थिए।

‘धार्मिक सम्मेलन सकिएपनि हामीहरु कात्तिक २ गते (अक्टोबर १९) पछि मात्रै काठमाडौं फर्कने कार्यक्रम छ’, धर्मशालामा रहेका दलाई लामाका नेपाल प्रतिनिधि ग्यात्सोले भने।

ग्यात्सोले आश्रय दिने मुलुकको कानुन मानेर आफुहरुले सँधै नेपाललाई सम्मान गर्ने भन्दै उच्च भ्रमणको क्रममा विरोध प्रदर्शन नहुने संकेत गरे।

‘हाम्रो नीति स्पष्ट छ, आश्रय दिने मुलुकको नीति विरुद्ध कहिल्यै जाँदैनौं’, उनले आफ्नो सैद्धान्तिक मत जाहेर गरे।

ग्यात्सोले नेपालमा बसोबास गर्ने तिब्बती शरणार्थी प्रदर्शनमा नउत्रने संकेत गरेका हुन्। तर तिब्बती शरणार्थीका केही प्रतिनिधिले भने भारतबाट यसअघि नै आइसकेका तिब्बती युवाले व्यक्तिगत वा सानो समूहगत तहमा प्रदर्शन गर्न सक्ने संकेत यसअघि नेपालखबरसँग गरेका थिए।

प्रहरी उच्च स्रोतका अनुसार नेपालबाट धर्मशालाको सम्मेलनमा सहभागी हुनेहरुमा दलाई लामाका नेपाल प्रतिनिधि ग्यात्सो, एनजिओका प्रतिनिधि जाम्पा छिरिङ, स्वायत्त निकायका प्रतिनिधि सोनाम छिरिङ, ग्याचेङ एसोसियसन एडमिन, सेटलमेन्ट प्रमुखहरु, स्वतन्त्र तिब्बतको वकालत गर्ने संघसंस्थाका प्रतिनिधिहरु, धार्मिक सेक्टका प्रतिनिधि र लामाहरु गरी ३३ जना छन्।

टिवेटियन युथ कँग्रेस (टीवाइसी) र टिवेटियन वुमन एसोसियसन (टीडब्लुए) का अध्ययक्षसहित ११ जना प्रतिनिधिले समेत सो सम्मेलनमा भाग लिएको प्रहरी स्रोतले जनाएको छ। जसमा अध्यक्षहरु जावलाखेलका पेमा नोर्वू, फासिङका कुनचोक थिन्ले, काठमाडौंका लोब्साङ नोगडुप, बौद्धका पासाङ छिरिङ, जोरपाटीका जाम्पा थुप्तेन, मनाङका याङ सोमो, रसुवाका जिनोन दोर्जी, सोलुखुम्बुका छिरिङ धोनडेन, पोखराका छेदेन दाक्पा तथा थिन्ले वेयबर र मुस्ताङका एकाउन्टेन्ट पासाङ टासी छन्।

नेपालमा रहेका तिब्बती शरणार्थी सेटलमेन्टबाट सातजना प्रतिनिधि पनि धर्मशाला पुगेका छन्। जसमा काठमाडौंका कर्मा ग्याल्जेन, चेजोर सेटलमेन्टका काल्साङ धुन्डुप, जावालाखेलका दोर्जी रिग्जिन, सोलुखुम्बुका जाम्पा धुन्डुप, पोखराका कर्म स्वेपा, मुस्ताङका छेदेन वाङचुक र पोखराका सुल्ठिम दोर्जी छन्।

त्यससँगै क्षेत्रीय उपसमितिका आठ जना प्रतिनिधिहरु पनि सो धार्मिक सम्मेलनमा सहभागी भए। जावलाखेलका अध्यक्ष कर्मा पेमा, फासिङका लोब्साङ राब्ग्याल, पोखराका टासी फुन्चोक, बौद्धका गेन्पो सोनाम, रसुवाका सोनाम छिरिङ, पोखराका तेन्जिङ जाम्पाल र पोरखाकै नोग्दुप सो सम्मेलनमा भाग लिन धर्मशाला गएका छन्।

दलाई लामाको निर्वासित सरकारलाई औपचारिक रुपमा केन्द्रीय तिब्बती प्रशासन (सीटीए) भनिन्छ। यसलाई तिब्बतको छायाँ सरकार मान्नेहरु पनि छन्। सीटीएभित्र सातवटा मन्त्रालय छन्। जस मध्येको धर्म र संस्कृति मन्त्रालयले दलाई लामाको मृत्युपछि हुने पुर्नजन्मबारे छलफल गर्न यो पटक विशेष धार्मिक सम्मेलन आयोजना गरेको हो।

यसमा भाग लिन बौद्ध धर्मको एक सम्प्रदाय निङमा सेक्टका खेन्पो पाल्देन वाङचुक र थुप्तेन छोलिङ गुम्बा (सुोलुखुम्बु) का गेलुङ नवाङ लेक्पा मात्र होइन, बोन धर्मका प्रतिनिधि गोसे सेराब रिन्चेन र गेसे सेराब फुन्चोक समेत धर्मशाला पुगे।

धर्मशाला पुगेका तिब्बती प्रतिनिधिहरु सी भ्रमणको समयमा नेपाल नआउनुको कारण ग्यात्सोले उल्लेख नगरेपनि नेपाल सरकारले भने सो समयमा नेपाल प्रवेश गर्ने तिब्बती शरणार्थीप्रति कडाई गर्ने नीति लिएको छ। भारतबाट नेपाल आउने तिब्बतीहरुले नेपालमा प्रदर्शन गर्न सक्ने विश्लेषण गर्दै सुरक्षा अधिकारीहरुले नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी राख्न सुरु गरिसकेका छन्।

नेपाल प्रहरीको बौद्ध वृत्तका डीएसपी रमेशकुमार सिंहले सी भ्रमणको आसपासमा सीमा नाकामा आउजाउ बन्द गरिने र तिब्बती शरणार्थीको गतिविधिमाथि झन् कडा निगरानी हुने बताए।

‘राज्य नै राष्ट्रपति सीको भ्रमण सफल बनाउन लागि परेको हुनाले सुरक्षामा देखिने सबै चुनौतिमाथि निगरानी र नियन्त्रण गरिनेछ’, उनले थपे, ‘तिब्बती शरणार्थीका गतिविधिमाथि त झन् विशेष निगरानी राखिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad