राजनीति


महरालाई पक्राउ गर्न सभामुखको सरकारी निवासमा प्रहरी टोली

महरालाई पक्राउ गर्न सभामुखको सरकारी निवासमा प्रहरी टोली

नेपालखबर
असोज १९, २०७६ आइतबार ११:११,

आफ्नै सचिवालयकी कर्मचारी बलात्कार अभियोग लागेका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न प्रहरी टोली परिचालन भएको छ। महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी अपराध महाशाखासहितको टोली बालुवाटारस्थित सभामुखको सरकारी निवास पुगेको छ।

जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति पाएको प्रहरीले उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेसँग समेत अनुमति लिएर महरालाई नियन्त्रणमा लिन सभामुख निवास पुगेको हो।

सभामुखबाट राजीनामा दिए पनि महरा सभामुखको सरकारी निवासमै बस्दै आएका छन्।

शुक्रबार पीडित महिला रोशनी शाहीले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा महराविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्। सोही जाहेरी आधारमा प्रहरीले उनलाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो।

आइतबार जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको थियो। प्रारम्भिक अनुसन्धनबाट असोज १२ गते राति तत्कालीन सभामुख महरा तीनकुनेस्थित रोशनीको भाडाको कोठामा गएको पुष्टि भएको छ। जाहेरीपछि प्रहरीले पीडित महिलाको स्वास्थ्य जाँच गरी अनुसन्धान अघि बढाएको छ।

बलात्कार आरोप सार्वजनिक भएपछि एक साताअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उनलाई संसद तथा सभामुख पदबाट राजीनामा दिई छानिबनमा सहयोग गर्न आग्रह गरेको थियो। सभामुख पद छोडे पनि सांसद पद भने उनले त्यागेका छैनन्। त्यही भएर प्रहरीले पक्राउ गरी सभामुखको समेत अनुमति लिनु परेको हो।

प्रहरीले महरा पीडितको कोठामा जाँदाको सीसीटीभी फुटेजसमेत फेला पारेको छ। महराले प्रयोग गर्ने मोबाइलको कलअनुसारको लोकेसन समेत संकलन गरेको छ। ती सबै प्रमाणहरूले उनी कसुरदार भएको संकेत गरेका छन्।

आइतबार राति घटना भए लगत्तै शाहीले प्रहरीको इमर्जेन्सी हटलाइन १०० मा फोन गरी सभामुखले आफूलाई बलात्कार गरेको उजुरी गरेकी थिइन्। सो जानकारी पाए लगत्तै वानेश्वर वृत्तका प्रमुख डीएसपी दुर्गाराज रेग्मी नेतृत्वको टोलीले घटनास्थलको प्रारम्भिक मुचुल्का उठाएको थियो।

घटनास्थलबाट महराले पिएको रक्सको बोतल, फुटेको चस्माको सिसा, जुत्ताको तुलवा बरामद गरेको थियो। ती सामग्रीको फोरेन्सिक जाँच भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad