राजनीति


गान्धी विकेन्द्रीकरणको पहिलो प्रवक्ताः देउवा

गान्धी विकेन्द्रीकरणको पहिलो प्रवक्ताः देउवा

नेपालखबर
असोज १५, २०७६ बुधबार १४:७,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महात्मा गान्धी गाउँलाई प्राथमिकतामा राखेर विकास गर्नुपर्छ भन्ने विकेन्द्रीकरणको पहिलो प्रवक्ता भएको बताएका छन्।

एक सय ५०औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा उनले आज गाउँमा सुविधा नपाएर शहरमा जनसङ्ख्याको चाप बढेको उल्लेख गर्दै यसबारेमा गान्धीको दूरदर्शी विचार रहेको बताए।

आन्दोलनका क्रममा गान्धीले चर्खाबाट आँफै कपडा उत्पादन गरी अंग्रेजले उत्पादन गरेका कपडा बहिष्कार गरेको र शान्ति तथा अहिंसाकै माध्यमबाट शक्तिशाली अंग्रेज शासकलाई भारतबाट हटाउन सफल भएको प्रसंगसमेत सभापति देउवाले उल्लेख गरे।

कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गान्धीले मानव हृदयलाई प्रभावमा पारेर समाजमा परिवर्तन ल्याउन सफल भएको र विश्वलाई शान्तिको पथमा हिँड्ने प्रेरणा दिएको उल्लेख गरे। उनले कांग्रेसले शान्ति र अहिंसाकै माध्यमबाटै माओवादीको सशस्त्र द्वन्द्वको समाधान गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले नेपालमा अहिलेको राजनीतिक उपलब्धि पनि शान्ति र अहिंसाकै माध्यमबाट प्राप्त भएको बताउँदै प्राप्त उपलब्धिमाथि देखिएका खतराको सामना गर्न सम्पूर्ण नेपाली जनता जागरुक हुनुपर्ने धारणा व्यक्त गरे।

कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आजको विश्व राजनीतिमा गान्धीको प्रेरणाको महत्व थप बढेको चर्चा गरे। भारतीय कांग्रेसका नेता एवं भारतका पूर्वविदेशमन्त्री सलमान खुर्शिदले गान्धीले कठिन परिस्थितिमा पनि आत्मविश्वासका साथ ठूलो निर्णय लिन सफल भएको चर्चा गर्दै शान्तिबिना विकास नहुने बताए।

भारतीय जनता पार्टीका प्रवक्ता विजय सोनकर शास्त्रीले नेपालमा ‘सी पथ’ को बहसबारे टिप्पणी गर्दै ‘सी पथ’ ले नेपालमा ठूला भवनको निर्माण भए पनि मानव विकास र मानवताका लागि भने ‘जी पथ’ अर्थात् गान्धी पथ नै आवश्यक पर्ने टिप्पणी गरे। नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले गान्धी भारतमा जन्मे पनि विश्वका लागि शान्ति र अहिंसाका प्रेरणाको स्रोत बनेको धारणा व्यक्त गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .