राजनीति


‘खुला सिमानाका कारण शान्ति सुरक्षामा चुनौती’

‘खुला सिमानाका कारण शान्ति सुरक्षामा चुनौती’

नेपालखबर
असोज ११, २०७६ शनिबार ११:२३,

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले भारतसँगको खुला सिमानाका कारण शान्ति सुरक्षा कायम गर्न चुनौती रहेको बताए।

शुक्रबारदेखि जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई शनिबार दोस्रो दिन सम्बोधन गर्दै उनले प्रदेशका सबै जिल्ला भारतसँग जोडिएर रहेका र सीमाक्षेत्र खुल्ला हुँदा शान्तिसुरक्षा कायम गर्न चुनौती रहेको बताए।

उनले भने, ‘संघीयता कार्यान्वयनसँगै संघ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यमा सुरक्षासंयन्त्र परिचालन गरिए अपराधिक घटना न्यूनीकरण गर्न सकिन्छ।’ मुख्यमन्त्री राउतले सरकारको पहिलो दायित्व नै शान्ति सुरक्षा रहेकाले यसका लागि आ–आफ्नो ठाउँबाट सबै पक्ष लाग्नुपर्नेमा जोड दिए।

गृहमन्त्रालय र प्रदेश नं २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा शुक्रबारदेखि चलिरहेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मूलभूत लक्ष्यप्राप्ति र विद्यमान समस्या समाधानका लागि सुरक्षा निकायबीच साझा अवधारणा विकास गर्ने उद्देश्यकासाथ गोष्ठी सञ्चालन गरिएको बताए।

उनले सबै सुरक्षा निकायका अधिकारीले आपसमा समस्या र राष्ट्रिय संकल्पलाई बुझेर अगाडि बढ्न गोष्ठी सफल हुने विश्वास गरे। सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका पृतनापति नरेशचन्द्र भट्ट तथा गृहमन्त्रीका सुरक्षा सल्लाहकार ईन्द्रजीत राईलगायतको सहभागिता थियो।

गोष्ठीमा प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, नेपाली सेनाका अधिकारी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको पनि सहभागिता रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .