ad ad

राजनीति


ज्ञानेन्द्रले पढेको विज्ञप्तिको ड्राफ्ट एमालेले गरेको माधव नेपालको खुलासा

ज्ञानेन्द्रले पढेको विज्ञप्तिको ड्राफ्ट एमालेले गरेको माधव नेपालको खुलासा

नेपालखबर
असोज ११, २०७६ शनिबार ११:३८,

 सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वरिष्ठ कम्युनिस्ट नेता एवं पूर्वअर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको व्यक्तित्वबाट सबैले सिक्नुपर्ने बताएका छन्।

भरतमोहन अधिकारी स्मृति फाउन्डेसनले शनिबार काठमाडौँको वानेश्वरमा आयोजित ‘भरतमोहन अधिकारीः व्यक्ति एक, व्यक्तित्व अनेक’ विषयक गोष्ठिमा बोल्दै नेता नेपालले अफ्ठ्यारो बेलामा निकास दिनसक्ने नेता भएको बताए।

‘उहाँ स्पष्ट विचार भएको, सही विषयमा अडान लिन सक्ने र अप्ठेरो परेका बेला निकास दिन सक्ने खुबी भएको राजनेताका रुपमा हुनुहुन्थ्यो’, भरतमोहनलाई स्मरण गर्दै उनले  भने।

०५१ सालमा एमालेको नौ महिने सरकारका अर्थमन्त्रीका रुपमा अधिकारीले गाउँगाउँमा बजेट पु¥याएको चर्चा गर्दै नेता नेपालले त्यसयताका सबै सरकारले अधिकारीकै सिको गरिरहेको उल्लेख गरे। ‘भरतमोहनजीमा नयाँनयाँ र कलेक्टिभ काम गर्न सक्ने खुबी थियो’, नेता नेपालले भने, ‘अर्थमन्त्री र लामो समय पार्टीको आर्थिक विभागमा बसेर काम गर्दा कहिल्यै विवादमा आउनुभएन। सुशासनका पक्षमा उहाँ दृढ हुनुहुन्थ्यो।’

०४७ सालको संविधान मस्यौदा समितिको सदस्य र दुईपटक संविधानसभा सदस्यका रुपमा अधिकारीले संविधान निर्माणमा अतुलनीय योगदान गरेको पनि नेता नेपालले स्मरण गरे।

०६३ वैशाख ११ मा राजा ज्ञानेन्द्रले जारी गरेको विज्ञप्तिको ड्राफ्ट एमालेले गरेर दिएको भन्दै उनले त्यो मस्यौदा लेख्ने काम अधिकारीले गरेको बताए।

‘कांग्रेसले र हामीले छुट्टाछुट्टै ड्राफ्ट दिएका थियौं। दरबारको पनि छुट्टै थियो। हामीले हाम्रो ड्राफ्टअनुसार राजाको सम्बोधन हुनुपर्छ भन्ने अडान राखेपछि ज्ञानेन्द्रको ९ बजेका लागि हुने भनिएको घोषणा राति ११ बजे भयो’, नेपालले भने, ‘सुरुमा प्यारा देशबासीहरु र अन्तिममा श्रीपशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्ने बाहेक राजाले सबै हामीले लेखेर दिएको पढे। वास्तबमा भन्ने हो भने त्यही घोषणा नै राजतन्त्र अन्त्यको जग थियो।’

कार्यक्रममा पूर्वमन्त्री राधाकृष्ण मैनाली, स्वर्गीय अधिकारीका बालसखा समेत रहेका नेता कमल कोइराला, प्राध्यापक कृष्ण पोखरेल, डा. गोविन्दबहादुर थापा र अधिकारी पत्नी सविता अधिकारी लगायतले उनको व्यक्तित्व र कृतित्वको चर्चा गरेका थिए।

वक्ताहरुले अधिकारी सरल, तल्लो स्तरका ग्रामीण जनताप्रति माया भाव राख्ने स्वभावका र समन्वयकारी व्यक्तित्वका धनी भएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .