ad ad

राजनीति


मलाई सानातिना धम्कीले केही फरक पर्दैनः महासचिव शाही

मलाई सानातिना धम्कीले केही फरक पर्दैनः महासचिव शाही

नेपालखबर
असोज ४, २०७६ शनिबार १०:३८,

 नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले आफूलाई तरुणको नेतृत्व दिए एक वर्षमा पाँच लाख नयाँ सदस्य थपेर देखाउने दावी गरेका छन्।

उनले पार्टीले तरुण दलको जिम्मेवारी मात्र होइन जुन कुनै विभागको जिम्मेवारी दिएर काम गर्ने वातावरण सृजना गरे नेपाली कांग्रेसलाई देशकै पहिलो पार्टी बनाइ छाड्ने ठोकुवा समेत गरे।

नेपाली कांग्रेस पञ्चकन्या–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको विजया दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदनप्रदान तथा एसर्इर्इ सम्मान कार्यक्रममा महासचिव शाहीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाली जनतालाई दमन गर्न थालेको आरोप लगाए।

शाहीले इतिहासमा सबैभन्दा बढी ओली सरकारले जनतालाई दमन गरेको भन्दै नेपाली युवाहरु एकजुट भएर सरकारको प्रतिकार गर्नुपर्ने बताए। उनले ओली सरकारले भ्रष्टाचार गरेको समेत आरोप लगाए। ओली सरकारको पालामा कालोबजारी बढेको, मूल्यवृद्धिले अकाश छोएको, सुन काण्डलाई जोगाएर राखेको, एनसेललाई करको छुट दिलाएको, बालुवाटार जग्गा काण्डबारे जानकार नहुनुले सरकार भष्ट्राचारमा लिप्त भएको पुष्टि हुने उनको भनाइ थियो।

महासचिव शाहीले तरुण दल नेपाली कांग्रेसका अन्य भातृ संगठनहरु भन्दा केही मिलेको बताए। तरुण दलमा कार्यकाल सम्पन्न हुनभन्दा केही महिना अघिमात्र विवाद उत्पन्न भएको भन्दै त्यो पनि अध्यक्षको दादागिरीले विवाद देखिएको आरोप लगाए।

आफूले संगठनलाई जोगाइराख्न धेरै नै प्रयत्न गरेको तर अध्यक्षले अधिनायकवाद लादेको उनको ओरोप थियो। उनले आफ्ना कारणले आजसम्म तरुण दल एक ढिक्का भएर बसेको तर केही समय अघि अध्यक्षले काम गर्ने जागर नदेखाएर काम गरौंभन्दा कारबाहीको डण्डा बजाएको बताए।

‘नेविसघंको समिति बनेको दुई महिनामा अध्यक्ष र महासचिवको झगडा भयो, महिला संघको अवस्था त्यस्तै छ’, उनले भने, ‘अध्यक्षले मैले भनेका केही काम गर्न गर्न मान्नु भएन। मैले देशैभरी संगठन विस्तार गरौं भने, मेची– महाकालि जागरण अभियान चलाउँ भने, निर्मला पन्तको बलात्कार पछि हत्या भएको विषयमा जिल्ला जिल्लामा महिलाहरुका लागि रक्षात्मक तालिम दिउँ भने उहाँले मान्नु भएन।’ शाहीले आफूले भष्ट्राचार विरुद्धको अभियान चलाउँभन्दा उल्टै कारबाहीको डण्डा चलाएको आरोप समेत लगाए।

एक फरक प्रसंगमा बोल्दै शाहीले अध्यक्षले आफूलाई बिकट कालिकोटको गाउँमा जन्मेकाले हेपेको बताए। उनले आफू विचार, आदर्श र नैतिकतामा टेकेर लडाईं लडिरहेको भन्दै विगतमा माओवादीको बन्दुसँग समेत नडराएको आफूलाई सानातिना धम्कीले केही फरक नपर्ने बताए। ‘ठूलो ज्यान छ भन्दैमा, विगतमा गुण्डागर्दी गरेको र अगाडि पछाडि दुई चार जना केटाहरु घुमाउँदैमा कोही पनि डराउँदैन’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .