राजनीति


बीआरआईमा सैन्य गठबन्धन छैनः प्रचण्ड

बीआरआईमा सैन्य गठबन्धन छैनः प्रचण्ड

नेपालखबर
भदौ २९, २०७६ आइतबार १४:४८,

पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल कमल दाहाल प्रचण्ड वेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)ले सैन्य गठबन्धनको गन्ध नदिएको प्रष्टयाएका छन्। नेपाल बुद्धिजीवी संगठनद्धारा आइतवार ललितपुरमा आयोजित कार्यक्रममा प्रचण्डले बीआरआई नेपालका लागि आवश्यक रहेको पनि बताए।

‘बीआरआईले सैन्य गठबन्धनको गन्ध दिएको छैन। सामाजिक सद्भाव र समावेशी विकासको मोडालिटी प्रस्तुत गरेको छ। विश्व शान्ति, मानव समृद्धि र सामूहिक प्रयास बीआरआईका लागि आवश्यक छ। त्यहि भएर बिश्वका दुई तिहाई जनताले बीआरआईमा सहमति जनाएका छन्। बीआरआई हाम्रा लागि सबभन्दा आवश्यक छ। रेल, पाइपलाइन, सञ्चार, समुन्द्रसहितका संरचनागत कनेक्सनका कुरा बीआरआइमा छन्। बीआरआईमा राष्ट्रियहित अनुकुलका परियोजना छनौट गर्ने अधिकार छ। बीआरआईलाई अगाडि बढाउने गृहकार्यमा हामी केही पछाडी परेपनि अव अगाडि बढनेछ’ प्रचण्डले भने।

आफू प्रधानमन्त्री भएको वेला सैद्धान्तिक रुपमा बिआरआईमा सहमति भएको उल्लेख गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति बिद्या भण्डारीको चीन भ्रमणका वेला यो प्रक्रिया अगाडि बढेको जानकारी गराए।

अध्यक्ष प्रचण्डले नेपाल, भारत र चीनका वीचमा त्रिदेशीय समझदारीमा जानु पर्ने आवश्यकतामा जोड दिँदै प्रचण्डले त्रिदेशीय साझेदारीले दक्षिण एशिया र दक्षिणपूर्वी एशियाका लागि पनि सहयोग पुग्ने बताए। ‘मैले केही वर्ष अगाडि लिखित रुपमा नै त्रिदेशीय समझदारीको प्रस्ताव भारत र चीन दुवै मुलुकसँग प्रष्ट रुपमा राखेको थिए। चीनले त्यो प्रस्तावलाई सकारात्मक रुपमा लिएको छ भने भारतले पनि नकारात्मक रुपमा लिएन। त्रिदेशीय समझदारीका बारेमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङसँग पनि छलफल भएको छ।’ प्रचण्डले अहिले दुवै छिमेकीसँग नेपालले राष्ट्रिय हित अनुकुल सहयोग जुटाउने वातावरण बनेको पनि बताए।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल कसैका बिरुद्धको मोर्चाबन्दीमा नरहेको प्रष्ट पारेका छन्। ‘हामी नेपालको विकासमा सबैको साथ लिन्छो। कसैसँग वैरभाव नराख्ने र मित्रताको सम्बन्ध राख्ने नै हाम्रो नीति हो’ मन्त्री ज्ञवालीले भने। बीआरआई ऋणको पासो नबन्ने प्रष्टयाउँदै मन्त्री ज्ञवालीले आफ्ना प्राथमिकताका परियोजना छनौट गरिने बीआरआई परियोजनाले २१ औँ शताब्दीको दुरगामी महत्व राख्ने बताए। ‘बीआरआईमा एक सय ५२ मुलुक र ३० वटा संगठनले आवद्धता जनाइसकेकाले यसको ल्याण्डमार्क प्रभाव देखाउँछ। समावेशी विकास र वरपरका देशलाई समृद्ध बनाउने यसको यसको उद्देश्य हो। आफनो स्वार्थ पहिले खोज्ने प्रबृत्ति देखिइरहेको वेला बिआरआईले संसारलाई विकल्प दिएको छ। हामी अहिले बीआरआई कार्यान्वयनको ढाँचाका बारेमा छलफलमा छौँ। बिआरआईले हाम्रो कनेक्टीभिटीमा मद्दत गर्न सक्छ’ मन्त्री ज्ञवालीले भने। चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका वेला पनि बीआरआईका बारेमा छलफल भएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले भने ‘हामीले चीनलाई व्यापार घाटा घटाउन सहज पहुँच दिन भनेका छौँ।’

नेकपाका स्थायी समिति सदस्य तथा बुद्धिजीवी इन्चार्ज अग्नी सापकोटाले बीआरआई विश्वशान्तिको हितमा रहेको बताए। नेपालले उच्च कुटनीतिक कौशलता प्रयोग गरी भारत र चीनसँग समझदारी बढाउन सक्ने उल्लेख गर्दै नेता सापकोटाले चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणपछि र चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल भ्रमण अघि बीआरआईका बारेमा छलफल गराएर आफूहरुले यो बिषयलाई अगाडि बढाउन खोजेको बताए। ‘बीआरआईमा सहभागी हुनुको बिकल्प छैन’ पूर्व मन्त्री सापकोटाले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad