संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि शनिबार नेपालगञ्ज विमानस्थलमा भएको दुव्र्यवहारको घटना र त्यसपछि आएका समाचारप्रति उनको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्री भट्टराईको स्वकीय सचिवालयले आइतबार विज्ञप्ति जारी गरेर एक समूहले जहाजभित्र मन्त्रीप्रति गरेको दुव्र्यवहार र अपशब्द खबरदारी नभई गुण्डागर्दी प्रवृत्ति रहेको ठहर गरेको छ।
दुर्व्यबहार गर्नेप्रति मन्त्रीका सचिवालयले स्व. मदन भण्डारीको भनाई सापटी लिँदै भनेको छ, ‘दुनियाँमा पुँजीवादी स्यालहरूको कमी छैन। काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ, कुकुर भुक्तै गर्छ, हात्ती लम्कँदै गर्छ।’
पछिल्लो समयमा सो समूहले प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरु, राजनीतिक दलका नेता, अन्य मन्त्री र राज्यका संबैधानिक आयोगका प्रमुखहरुको बिषयमा दिइरहेको अभिव्यक्तिप्रति जानकार र सचेत रहेको जनाउँदै विज्ञप्तिमा भनिएको छ, ‘लामो संघर्ष र बलिदानबाट प्राप्त भएको अभिव्यक्ति स्वतन्त्रताको हामी सदैब सम्मान गर्दछौं। तर, अभिव्यक्ति स्वतन्त्रताको नाममा उक्त समूहले व्यक्त गरिरहेका विचार निकृष्ट मात्रै होइन हाम्रो संस्कृति र सभ्यता बिरोधी समेत छन्।’
मन्त्री भट्टराईको सचिवालयले पछिल्लो समयमा आफ्नो सिंहासन गुमेपछि बिक्षिप्त बनेका प्रतिगामी ‘मण्डले प्रवृत्ति’ ले यो वा त्यो नाममा संबिधान बिरोधी हर्कतहरु जारी राखेका बताउँदै यसप्रति सचेत रहन सबै लोकतान्त्रिक शक्तिहरुसँग अपिल समेत गरेको छ।
शनिबार बुद्ध एयरमा नेपालगञ्जबाट काठमाडौं आउन लागेका मन्त्री भट्टराईका कारण जहाज करिब एक घण्टा ढिलो उडेको भन्दै यात्रुहरुले विरोध गरेका थिए। त्यसक्रममा केही ब्यक्तिले मन्त्रीमाथि अपशब्द बोलेको र दुर्व्यबहार गरेको मन्त्री भट्टराईले जनाएका छन्।


प्रतिक्रिया