राजनीति


लद्दाखमा भारत र चीनका सेनाबीच दिनभर धक्कामुक्की

लद्दाखमा भारत र चीनका सेनाबीच दिनभर धक्कामुक्की

नेपालखबर
भदौ २६, २०७६ बिहिबार ४:४८,

भारत र चीनका सेनाबीच पश्चिमी सीमा क्षेत्र लद्दाखमा धक्कामुक्की भएको छ।

लद्दाखको पूर्वी क्षेत्रमा गस्तीमा रहेका भारतीय सैनिक र चीनको पिपुल्स लिवरेशन आर्मी (पीएलए) बीच जम्काभेट भएपछि बुधबार धक्कामुक्की भएको हो।

बुधबार झिसमिसे अघि सुरु भएको धक्कामुक्की साँझसम्म चलेको थियो।

सो घटना लद्दाखको पूर्वी क्षेत्रस्थित पोगोग सो मा भएको भारतीय पत्रिका टाइम्स अफ इन्डियाले जनाएको छ। १ सय ३४ किलोमिटर लामो सो क्षेत्रको दुई तिहाइ हिस्सा चीनको नियन्त्रण रहेको छ।

अघिल्लो महिना भारत सरकारले संविधान संशोधन गरी कस्मिरको विशेष राज्यको मान्यता हटाएपछि दिल्ली र बेइजिङबीच तनाव बढिरहेको समयमा सिमा क्षेत्रमा सैनिक धक्कामुक्की भएको हो। दुई वर्ष अघि पूर्वको भुटान–भारत–चीन त्रिदेशीय सिमा क्षेत्र दोक्लममा भएको सैन्य धक्कामुक्कीपछि चीन र भारतीय सेनाबीच भएको यो पहिलो घटना हो।

भारतले जम्मु तथा कस्मिरलाई अगल गरेर लद्दाख क्षेत्रलाई केन्द्र शासकीय क्षेत्र बनाएकोमा चीन असन्तुष्टी जनाउँदै आएको छ। चीनले आफ्नो भूभाग रहेको क्षेत्रलाई समेत भारतले दावी गरेको भन्दै आपत्ति जनाउँदै आएको छ।

लद्दाखमा भारतीय सेनाले चिनियाँ सेनाको उपस्थितिप्रति विरोध जनाएपछि जवानहरुबीच दिनभर धक्कामुक्की चलेको थियो। त्यसपछि सो क्षेत्रमा दुवैतर्फबाट सैनिकको संख्या बढाइएको थियो।

सो घटनापछि दुवैतर्फबाट सेनाको बिग्रेडियर स्तरका अधिकारीहरुबीच वार्ता भएको थियो। लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) बारे दुई पक्षबीच रहेको फरक बुझाइका कारण समस्या उत्पन्न भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

दुई वर्षअघि पनि सो स्थानमा चिनियाँ र भारतीय सैनिकबीच झडप भएको थियो। त्यसबेला दुबै पक्षले एक अर्कोविरुद्ध ढुंगा र रड हानाहान गरेका थिए।

भारतले उत्तर पूर्वको अरुणाञ्चल प्रदेशमा युद्ध अभ्यास गर्ने तयारी गर्दै गरेको बेला पश्चिमको लद्दाखमा यस्तो घटना भएको हो। चीनले दक्षिण तिब्बत भनेर दावी गर्दै आएको अरुणाञ्चल प्रदेशमा भारतले १५ हजार सैनिक सहभागी गराएर ‘भीम विजय’ नामको सैनिक अभ्यासको तयारी गरिरहेको छ।

हालै मात्र भारत र चीनबीच तय गरिएको सिमा वार्ता रद्द भएको थियो।

यसअघि दोक्लम सिमा विवाद चर्किंदै जाँदा भारत र चीन झण्डै युद्धको नजिक पुगेका थिए। दुई देशबीच कुटनीतिक तहमा भएका वार्ताबाट शान्तिपूर्ण रुपमा जाने सहमती भएपछि चीनको वुहानमा चीनका राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अनौपचारिक शिखर वार्ता भएको थियो।

अहिले सी भारत भ्रमणमा जाने र दुई नेताबीच वुहान वार्तालाई निरन्तरता दिने तयारी भइरहका बेला लद्दाखमा सेनाबीच धक्कामुक्की भएको छ।

हुन त सन् २०१४ मा चीनका राष्ट्रपति सीको भारत भ्रमण अघि पनि पश्चिम सिमा क्षेत्रमा दुई सेनाबीच यस्तै तनाव भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad