प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्या शाहले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिएकी हुन्।
प्रधानमन्त्री ओली सिंगपुरमा १४ दिनको उपचारपश्चात शुक्रबार मध्यान्ह स्वदेश फर्किएका हुन्। विमानस्थलमै पत्रकार सम्मेलन गरेर उपचार र स्वास्थ्य अवस्था बारे जानकारी दिने बताइए पनि प्रधानमन्त्री ओलीले विमानस्थलमा कुनै प्रतिक्रिया दिएनन्।
प्रधानमन्त्री ओलीको शरीरमा बढी मात्रामा रहेको एन्टीबडीलाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया एनयुएचमा पूरा भएको बताइएको छ।
प्रधानमन्त्री स्वदेश फर्किएपछि निजी चिकित्सक शाहले विज्ञप्ति जारी गर्दै अवस्था सामान्य रहेको र नियमित कामकाज गर्न सक्ने जानकारी दिएकी हुन्।
‘हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ र उहाँले आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्नुहुनेछ’, डा. शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
प्रधानमन्त्री ओली थाइ एयरबाट शुक्रबार मध्यान्ह १२:२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन्।
विमानस्थलमा प्रधानमन्त्री ओलीलाई कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा, गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायतका नेताले स्वागत गरेका छन्।
प्रधानमन्त्री ओली भदौ ५ मा मृगौलासम्बन्धी एन्टिबडीको उपचार गर्न सिंगापुर गएका थिए। उनको उपचार सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरिएको थियो।
प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बुझ्न केही दिनअघि सिंगपुर जानुभएका नेकपाका महासचिव विष्णुप्रसाद पौडेल र नेता वामदेव गौतम पनि आजै स्वदेश फर्किएका छन्। प्रधानमन्त्रीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यलगायत गएका थिए।

प्रतिक्रिया