राजनीति


नेकपाको सर्कुलर : आन्तरिक जनवादको भरपुर उपयोग गरौँ, बाहिर विरोध नगरौँ

 नेकपाको सर्कुलर : आन्तरिक जनवादको भरपुर उपयोग गरौँ, बाहिर विरोध नगरौँ

नेपालखबर
भदौ १३, २०७६ शुक्रबार १२:१८,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एकताका काम चाँडै पूरा गरेर स्थायी र केन्द्रीय समितिको बैठक बस्ने बताएको छ।

शुक्रबार अन्तरपार्टी निर्देशन २ जारी गर्दै नेकपाले पार्टी एकताको काम अन्तिम चरणमा पुगेको भन्दै विकास समृद्धि र सामाजिक न्यायको नारासहित देशैभर अभियान सञ्चालन गर्ने बताएको छ।
‘हामीले छिट्टै एकता–एकीकरणका बाँकी कामहरू सम्पन्न गर्नेछौं। यथासक्य चाँडो पार्टी स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक आयोजना गर्नेछौं’, अन्तरपार्टी निर्देशन– २ मा भनिएको छ, ‘अब पार्टीले समस्त नेता, कार्यकर्ता एवं सदस्यहरूलाई जनतासँग जोड्ने र आम जनसमुदायलाई सरकारद्वारा सञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसँग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्नेछ।’

नेकपामा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर गएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डको अध्यक्षतामा बैठक बसी निर्णय गरी सो अन्तरपार्टी निर्देशन जारी गरिएको हो। यसअघि निर्देशनमा दुवै अध्यक्षले हस्ताक्षर गर्ने व्यवस्था थियो।

निर्देेशनमा सहमतिका साथ एकता पक्रिया आगडि बढाउँदा समय लागेको उल्लेख छ।

त्यस्तै नेकपाले जथावाभी बोल्ने प्रचलनको अन्त्य गर्नका लागि नेता तथा कार्यकर्तालाई अनुशासनमा बाध्ने भएको छ। नेकपाले सार्वजनिक रुपमा नीति र नेतृत्वको विरोध गर्न बन्देज लगाएको छ। असहमति आलोचना भए विधानबमोजिम पार्टीभित्रै राख्न र आन्तरिक जनवादको भरपुर उपयोग गर्ने निर्देशन दिएको छ।

‘बैठकले पार्टीका सबै तहका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा असहमति, आलोचना वा विरोध भएमा पार्टी विधानको व्यवस्था बमोजिम प्रस्तुत हुन, अन्तरपार्टी जनवादको भरपुर उपभोग गर्न र पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा सार्वजनिक रूपमा विरोध वा आलोचना नगर्न निर्देशित गरेको छ’, अन्तरपार्टी निर्देशनमा भनिएको छ, ‘ पार्टीको नीति एवं नेतृत्वका विरुद्धमा लेख्ने, बोल्न वा गतिविधि गर्नेहरूप्रति पार्टी विधानबमोजिम स्पष्टीकरण सोध्ने र कारबाहीको प्रक्रिया अघि बढाउने पनि निर्णय गरेको छ।’

पार्टीले गरेका निर्णयहरूको महत्वलाई गम्भीरतापूर्वक आत्मसात गर्न र आ–आफ्नो कार्यक्षेत्रमा प्रभावकारी रुपमा कार्यान्वयन गर्न नेता तथा कार्यकर्तालाई निर्देशन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad