समाज


नेपाली बेहुली चीन बिक्री गर्ने गिरोहका १० पक्राउ

नेपाली बेहुली चीन बिक्री गर्ने गिरोहका १० पक्राउ

नेपालखबर
भदौ १३, २०७६ शुक्रबार १२:३४,

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गरेको अनुसन्धानमा चीनमा नेपाली युवतीहरु विवाहको बहानामा बेचिने गरेको पाइएको छ। मानव तस्करले चीनमा पु¥याउने एक जना युवतीलाई विवाह गराए बापत चिनियाँ दलालले १० लाखसम्म, काठमाडौंमा बस्ने नेपाली दलालले १ देखि २ लाखसम्म, युवती राख्ने दलालले ८० हजार, युवतीको अभिभावकले ५० देखि ६० हजार वा नयाँ फोन वा जिन्सी सामग्री पाउने गरेको अनुसन्धानबाट खुलेको छ।

ब्युरोको टोलीले विभिन्न मिति र स्थानहरुबाट चार जना पीडित युवतीको उद्धार गरेसँगै यो घटना बाहिर आएको हो। कानुनतः संगठित रुपमा पैसाको लेनदेन गरी विवाह गराउन पाइँदैन। यसलाई विश्वभर मानव तस्करी अपराधको रुपमा लिने गरिन्छ। ब्युरोका अनुसार यसलाई प्रचलित भाषामा ‘ब्राइड्स बाइङ’ भनिन्छ। ब्युरोले मानव बेचबिखन अपराधमा संलग्न १० जनालाई पक्राउ नै गरिसकेको छ। पक्राउ परेकामा ६ जना नेपाली र चार जना चिनियाँ छन्।

को–को पक्राउ परे?

पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बु २ घर भई हाल टोखा बस्ने रिना तामाङ भन्ने बिबिरानी तामाङ, नुवाकोट ककनी ४ का हाल टोखा बस्दै आएका रोज तामाङ, लमजुङ बेसिसहर ३ घर भई हाल टोखा नै बस्ने पार्वती गुरुङ, सोही ठाउँकी अमृता गुरुङ, बेसिसहरकै भरत तामाङ, लमजुङ साबिक गाउँसहर ४ भई हाल काठमाडौं सानेपा बस्ने उषा कुमारी घिमिरे रहेका छन्।

पक्राउ परेका चिनियाँ नागरिकमा चीनको हुवेई प्रान्तका झेंग जियांग डोंग, झांग डांग हुई, क्वियान झान पेंग र क्विन लियांग रहेका छन्। उनीहरूमध्ये झेंग र झांग काठमाडौंमा काम गर्ने चिनियाँ दलाल हुन्। क्वियान र क्विन नेपाली युवतीसँग विवाह गर्न आएका चिनियाँ हुन्।

यसरी पुग्छन् गाउँबाट सहर हुँदै चीनसम्म नेपाली युवती

पक्राउ परेका नेपालीमध्ये रिना नेपाली दलाल र भाषा अनुवाद गर्ने, रोजले रिनालाई कागजपत्र बनाउन र अन्य कार्यमा सहयोग गर्ने गरेको खुलेको छ। प्रहरीका अनुसार उषाले विभिन्न स्थानबाट युवतीहरु सम्पर्क गरी चिनियाँ नागरिकसँग भेटाउने गरेको, भरतले गाउँबाट युवतीहरु फकाएर काठमाडौं ल्याई अमृतालाई सम्पर्क गराउने गरेको खुलेको छ। अमृताले भने गाउँबाट युवतीहरु फकाएर ल्याई काठमाडौंमा पार्वतीलाई जिम्मा लगाउने गरेकी थिइन्। त्यसपछि पार्वतीले गाउँबाट ल्याइएका युवतीलाई राख्ने र चिनियाँ एजेन्टसँग भेट्ने व्यवस्था मिलाउने गरेको ब्युरोको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रारम्भिक अनुसन्धानअनुसार गाउँघरमा आर्थिक तथा पारिवारिक अवस्था कमजोर भएका युवतीहरु उक्त मानव तस्करको निशानामा परेको देखिएको छ। चिनियाँ युवासँग विवाह गरी चीन गए जीवन राम्रो हुने, चिनियाँ पासपोर्ट पाउने र पैसा पनि कमाइ हुने जस्ता प्रलोभनमा गाउँका सिधासादा युवतीलाई फसाउने गरेको खुलेको छ। गाउँबाट काठमाडौं ल्याएपछि दलालहरुले आफ्नै फ्ल्याटमा युवतीहरुलाई राख्दै आएको र सामान्यतः दलालसँग युवतीहरुले १० देखि १५ दिनसम्म एकै स्थानमा बस्ने गरेको अनुसन्धानमा देखिएको छ।

फ्ल्याटमा रहँदा मेकअप गर्न सिकाउने, भड्किलो पहिरन लगाउन सिकाउने र नेपाली युवती विवाह गर्न इच्छुक चिनियाँसँग भिडियोमार्फत भेट गराउने गरेको खुलेको छ। सो क्रममा चिनियाँले नेपाली युवतीहरु छान्ने गरेका थिए। उता चिनियाँको बारेमा थोरै जानकारी गराउने गरेको पनि पाइएको छ। विवाह मिति तय भएपछि चिनियाँ दलालहरु नेपाल आएर भाषा अनुवादकमार्फत काठमाडौंका विभिन्न स्थानमा भेट गराउने गरेको पाइएको छ। सो क्रममा चिनियाँ रहनसहन, भेटघाट गराउने गरेको अनुसन्धानबाट खुलेको छ।

सबै तय भएपछि विवाहको लागि आवश्यक कागजात, अविवाहित प्रमाणपत्र, विवाह दर्ता समेत आफैँ तयार गर्न लगाउने गरेको पाइएको छ। युवतीमार्फत उनीहरुको परिवारलाई विवाह गर्न दलालहरुले दबाब दिने र पारिवारिक सहमति लिने गरेको समेत पाइएको छ। वैधानिकताका लागि उनीहरुले काठमाडौं जिल्लाबाट कानुनी प्रक्रिया पूरा गर्ने गरेको र विमानस्थलमा परिवारका सदस्यमार्फत नै लैजाने गरेको पनि अनुसन्धानले देखाएको ब्युरोले जनाएको छ।

प्रहरीले पक्राउ परेका अभियुक्तबाट १२ थान मोबाइल, २१ लाख ९७ हजार ६ सय ६० रुपैयाँ, ३८ हजार ८ सय भारु, ३ हजार ३ सय चिनियाँ मुद्रा र १ सय ९० अमेरिकी डलर समेत बरामद गरेको छ। यसअघि पनि चीन र दक्षिण कोरिया पठाउने समूहका अपराधीलाई २०७१ मा सीआईबीको टोलीले पक्राउ गरी कारबाही गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad