संघीय संसद प्रतिनिधिसभाका उपसभामुख शिबमाया तुम्बाहाम्फेले महिला सांसदहरुलाई संसदमा प्रभावकारी र सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेकी छन्।
संघीय संसद सचिवालयले मंगलबार संघीय भवन नयाँ वानेश्वरमा गरेको संसदीय अभ्यास सम्बन्धी अन्तरक्रियामा उनले महिला सांसदहरुको भूमिका अपेक्षित रुपमा प्रभावकारी हुन नसकेको बताएकी हुन्। संघीय संसदका दुवै सदनमा संविधान अनुसार ३३ प्रतिशत महिला सुनिश्चितता भईसकेको तथा सबैको दृष्टिकोण महिला सांसदहरुले निर्वाह गर्ने भूमिकामा केन्द्रित हुने भएकाले प्रभावकारी र सक्रिय भूमिकामा रहनुपर्नेमा उनले जोड दिइन्।
राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले संसदीय प्रक्रियामा महिला सांसदहरुको भूमिका प्रभावकारी बनाउने सवालमा अन्तरक्रिया प्रभावकारी बन्ने विश्वास व्यक्त गरिन्।
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले संविधान, कानून र नियमभित्र रहेर संसदीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। संसदीय अभ्यासमा राम्रा नराम्रा दुवै रहेको भन्दै राम्रा अभ्यासको मात्रै अनुकरण गर्न पनि उनले सुझाव दिए। उनले शिष्ट र सभ्य भई विषयवस्तुको गाम्भिर्यता हरेर शुन्य, विशेष र ढ्यापढ्यापे समयको प्रयोग गर्नुपर्नेमा जोड दिए।
अन्तरक्रियामा महिला सांसदहरुले निर्वाचित र समानुपातिक सांसदहरुलाई गरेको विभेद, कार्यविधि परिर्वतन तथा संसदीय प्रणालीका अन्य विषयमा जिज्ञासा राखेका थिए।
संघीय संसद सचिवालयले संसदीय अभ्यास बारे महिला सांसदहरुका लागि अन्तरक्रिया आयोजना गरेको हो।

प्रतिक्रिया