पूर्वराजा ज्ञानेन्द्र विक्रम शाहले यस वर्ष आफ्नो जन्मदिन नमनाउने भएका छन्।
बुधबार एक सन्देश जारी गरी पूर्वराजा ज्ञानेन्द्रले जनतामा छाएको निराशाका कारण आफ्नो जन्मदिनमा कुनै उत्सव नगर्ने बताएका हुन्।
पूर्वराजा ज्ञानेन्द्रले यही असार २३ गते आफ्नो ७५ औँ जन्मदिवस मनाउँदैछन्।
‘राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रवन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्यौलको अवस्थामा देखा परेको छ। परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जतिनै रुपान्तरण गरे पनि जनताले ठोस सूख सूविधा नपाइरहेको बूझिएको छ’ पूर्वराजाले सन्देशमा भनेका छन्, ‘आफ्ना मूल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने तर सही सिर्जना र सार दिन नसक्ने, आज नेपाली जनताको मन अशान्त रहेको छ। कोरोनाको खोप उपचार पाउन नसकेका कतिपय नेपाली निराश छन्। यसै गरि देशमा वर्षादको यो समय प्राकृतिक विपद्को वेदना पनि उत्तिकै छ। जनजीवन दु:खद छ।
उनले ‘जनतामा पैदा भएको निराशा तथा भोग्नू परेको पीडालाई ध्यानमा राख्दै’ यही असार २३ गतेको जन्मदिनलाई उत्सवकारुपमा नमनाउने निर्णय गरेको बताएका छन्।
केही समयअघि कोरोनाबाट अस्वस्थ भइ संक्रमणमुक्त भएका पूर्वराजाले आफ्नो स्वास्थ्यलाभको कामना गर्नेहरुप्रति धन्यवाद पनि दिएका छन्।

प्रतिक्रिया