संसद् विघटनको बहसका क्रममा प्रधानमन्त्री र राष्ट्रपतिका तर्फबाट निजी कानुन व्यवसायीले बहस सुरु गरेका छन्।
यसअघि विपक्षीकै तर्फबाट महान्यायाधिवक्ता कार्यालयका वकिलहरुले बहस गरेका थिए।
निजी कानुन व्यवसायीको तर्फबाट बहस थालेका वरिष्ठ अधिवक्ता सुशील पन्तले निवेदकका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता शम्भु थापालाई कटाक्ष गरेका छन्।
उनले बहसका क्रममा भने, ‘राष्ट्रपतिलाई रिट निवेदनमा विपक्षी बनाउने अनि यहाँ आएर ‘हु आर यु’ भन्ने ?’
निवेदकतर्फबाट बहस गर्दा थापाले बहुमत पुगे पनि प्रधानमन्त्रीमा नियुक्त नगरेको र प्रधानमन्त्री चुन्न पाउने सांसदको अधिकार खोसेको भन्दै राष्ट्रपतिलाई ‘हु आर यु’ भनेका थिए।
संसदीय शासन पद्धतिमा प्रधानमन्त्री नियुक्ति गर्ने राष्ट्रपतिको विशेषाधिकार भएको पन्तले बताए।
‘राष्ट्रपतिलाई त मुद्दा लाग्दै लाग्दैन। राष्ट्रपतिलाई मुद्दा लाग्छ भने प्रत्यर्थी किन नबनाएको? राष्ट्रपतिले आफ्नो भनाइ नै राख्न नपाउने?’, पन्तले इजलासमा प्रश्न गरे।
कसैले आकाश थामिदिन्छु भन्यो भने पत्याउनैपर्छ भन्ने नभएको जिकिर उनले गरे।
७६ (५) निर्दलीय हुन्छ भनेर नहुने भन्दै संविधानमा निर्दलीय हुन्छ भनेर नलिेखिएको पन्तको तर्क छ।
७६(५) र ७६(२) उस्तै भएको दाबी गर्दै पन्तले फेरि एक पटक सरकार बनाउनका लागि मौका दिएको बताए।
उनले निवेदनमा १४६ सांसद नभएर ५ जना मात्रै सांसद रहेको जिकिर गरे। अन्य सांसदले कानुनले नचिन्ने गरी कागजात तयार गरेको बताए।
यस्तै तीनथरि मुद्दा आए पनि शेरबहादुर देउवाको मात्रै मुद्दालाई प्राथमिकता दिएको भन्दै उनले सर्वोच्चप्रति असन्तुष्टि जनाए।
‘राष्ट्रपतिको कार्य सदर गरिपाऊँ, देउवालाई प्रधानमन्त्री नियुक्त गरिपाऊँ र केपी ओलीलाई नियुक्त गरिपाऊँ भन्ने निवेदन परेको भए पनि अदालतले शेरबहादुरको मुद्दामा मात्रै सुनुवाइ गरेको भन्दै उनको असन्तुष्टि थियो।
Shares

प्रतिक्रिया