जननायक बीपी कोइराला मेमोरियल ट्रष्टले ‘बीपी कोइराला अध्ययन अनुसन्धान केन्द्र’ भवन निर्माण गर्ने भएको छ।
आज सो भवनको काँग्रेस सभापति शेरबहादुर देउवा, बीपीपुत्र डाक्टर शशांक कोइराला र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शिलान्यास गरेका हुन्।
उक्त भवन निर्माणका लागि काठमाडौँ महानगरपालिकाले मात्रै २ करोड आर्थिक सहयोग गरेको छ।
भवन निर्माणका लागि वागमती प्रदेश सरकारले ५० लाख र ट्रष्ट आफैँको १ करोड लगानी रहनेछ।
थप रकम दाताबाट जुटाउने ट्रष्टले जानकारी दिएको छ। भवन निर्माणको मात्रै लागत करिब ४ करोड ५० लाख लाग्ने अनुमान गरिएको छ।
काठमाडौँ महानगरपालिका वडा–५ को हाँडीगाउँमा निर्माण हुने सो भवन निर्माणका लागि काठमाडौँ महानगरपालिकासँगै प्रदेश सरकारलगायतबाट पनि सहयोग प्राप्त भएको प्रतिष्ठानका महासचिव रामचन्द्र पोख्रेलले जानकारी दिए।
शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै काँग्रेस सभापति देउवाले बीपीको योगदानलाई कदर गर्दै भवन निर्माणका लागि काठमाडौँ महानगरपालिका र अन्यले गरेको सहयोगप्रति पार्टीका तर्फबाट धन्यवाद दिए।
‘बीपी राजनीतिक, साहित्यिक र सामाजिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो’, देउवाले भने, ‘बीपीको सम्झना हामी सबैले गर्नुपर्छ। उहाँ विद्वान मात्रै होइन राष्ट्रवादी र समाजवादी नेता हुनुहुन्थ्यो।’
करिब दुई मिनेटजति मात्रै सम्बोधन गरेका देउवाले आगामी दिनमा आम नेपालीका लागि यो केन्द्र बीपीको ख्याति र उनीबारे अध्ययन–अनुसन्धान गर्ने केन्द्रका रुपमा दह्रिलो गरी उभिने अपेक्षा लिएको बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री समेत रहेका बीपीपुत्र शशांकले बीपीको स्मृतिमा भवनको शिलान्यास भएको दिनलाई आफूले महत्वपूर्ण दिनका रुपमा लिएको बताए।
‘काठमाडौँ महानगरपालिकाका मेयरज्युलाई धन्यवाद,’ कोइरालाले भने, ‘उहाँले बजेट दिनुभयो। त्यसैको आधारमा यहाँ आज शिलान्यास कार्यक्रम राखेका छौँ। भवन त संरचना मात्रै हो। त्यहाँ आत्मा हुनुपर्छ। आत्माले नै प्रोत्साहन गर्ने हो। आत्मा नमर्ने गरी अध्ययन–अनुसन्धान केन्द्रलाई अघि बढाउनुहोला।’
कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले आफू कुनै समय बीपीलाई हेर्न र सुन्न सार्वजनिक कार्यक्रममा जाने गरेको स्मरण गराउँदै आज उनकै स्मृतिमा निर्माण हुनलागेको बीपी अध्ययन–अनुसन्धान केन्द्र भवनको शिलान्यास कार्यक्रममा काठमाडौँ महानगरपालिका सहभागी हुन पाउँदा खुसी लागेको बताए।
‘कुनै समय टाढाबाट सुनेको, हेरिएको र आफूले पनि सम्मान गरेको व्यक्तिको स्मृतिमा निर्माण हुने भवनलाई सहयोग गर्न पाउँदा खसी लागेको छ’, शाक्यले भने, ‘बीपी पुत्र सशांकले भन्नेबित्तिकै राम्रो काममा सबैले सहमतिका साथ सहयोग गर्नुपर्छ भनेर महानगरपालिकाले सहयोग गरेको हो।’
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख शाक्यले कांग्रेस सभापति देउवातिर संकेत गर्दै दुर्घटनाबाट देशलाई बचाउन आग्रह गरे।
‘बीपीले २०१५ सालमा ल्याएको दुई–तिहाइपछि तत्कालीन शासकबाट खोसियो’, शाक्यले भने, ‘अहिलेको नेतृत्वले मुलुकलाई कुनै पनि दुर्घटना नहुने गरी देशलाई बचाएर अघि बढाउनु हुनेछ भन्ने मैले विश्वास लिएको छु।’
शाक्यले आफू स्वर्गीय बीपीको कार्यकर्ता नभए पनि एक अनुयायी भएको स्मरण गराए।
‘देश विकासका लागि जीवन समर्पण गर्ने सबै नेता आदरणीय हुनुहुन्छ,’ शाक्यले भने, ‘उहाँहरुलाई पढ्नुपर्छ, बुझ्नुपर्छ।’
ट्रष्टका महासचिव पोख्रेलले नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा समेत ख्याति कमाउन सफल बीपीलाई अन्तर्राष्ट्रियस्तरसम्म परिचित गराउन उनको स्मृतिमा अध्ययन–अनुसन्धान केन्द्र स्थापना गरेको बताए।

प्रतिक्रिया