राजनीति


विदेशीको पहिलो आँखा अध्यागमनमै पर्छ, सुधार गरौं : गृहमन्त्री पौडेल

विदेशीको पहिलो आँखा अध्यागमनमै पर्छ, सुधार गरौं : गृहमन्त्री पौडेल

नेपालखबर
असार १४, २०७८ सोमबार १०:२८,

गृहमन्त्री विष्णु प्रसाद पौडेलले नेपालको अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने बताएका छन्।

सोमबार अध्यागमन विभागले गरेको प्रणाली सिर्जित क्यूआर कोडसहित छपाई गरिएको भिसाको शुभारम्भ कार्यक्रममा बोल्दै गृहमन्त्री पौडेलले नेपालको अध्यागमनलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए।

उनले विदेशीको पहिलो आँखा अध्यागमनमै पर्ने उल्लेख गर्दै अध्यागमनको सुधार गर्नुपर्नेमा जोड दिए। अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनको निम्ति कामको योजना बनाएर अघि बढ्नुपर्ने पनि उनले बताए।

उनले भने, ‘नेपाललाई विदेशीले चिन्ने पहिलो दृश्य अध्यागमन हो। एयरपोर्ट हो। हामीले यो भिसा प्रणालीमा त एक प्रकारको सुधार गरेका छौँ र अरु थप सुधार गर्दै जान्छौँ। साथै समग्र अध्यागमन प्रशासनलाई समग्रतामा अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने आवश्यकता छ। हामीले गर्नुपर्ने कामहरुका बारेमा योजनाहरु निर्माण गर्दै जाऊँ।’

मन्त्री पौडेलले अध्यागमन प्रणालीलाई प्रभावकारी बनाउनका लागि र यसको प्रतिष्ठालाई माथि उठाउनको निम्ति प्रभावकारी भुमिका निर्वाह गर्न निर्देशन समेत दिए।

अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले क्यूआर कोड सहितको नेपाली कोडबाट सिधै छपाइ हरने भिसा प्रणालीको सुरुवात् गरिएको बताए। यसबाट विदेशी नागरिकहरुले विश्वको जुन कुनै ठाउँबाट पनि भिसाको लागि आवेदन दिन सक्ने बताए।

उनले विदेशी नागरिकले विवरण नेपाली पोर्टमा राखिसकेपछि भिसामा चाहिने विवरण कन्भर्ट भएर भिसा स्टिकर छपाइ हुने र नयाँ भिसा स्टिकरमा प्रयोग भएको क्यूआर कोडले यात्रा गर्ने मानिसको गोप्य सूचनाहरु स्टोर गर्ने भएको हुनाले विश्वसनीय, भरपर्दो र अन्तर्राष्ट्रिय स्तरमा तुलनायोग्य रहेको बताए।

उनले भने, ‘हामीले जारी गरेको नयाँ भिसा स्टिकर सानो छ र यसले नेपाली विशेषता बोकेको छ। एउटा पासपोर्टको पेजमा ३ पटकसम्म भिसा लगाउने भनेको ३ वटा भिसा स्टिकर टाँस्न सकिनेगरीको साइजमा निर्धारण गरिएको हुनाले यो मितव्ययी पनि छ। विद्युतीय भिसा लागु गर्नका लागि तयारी पुरा गरेका छौँ। अध्यागमन विभागले प्रयोग गरेको नेपाली पोर्टल नामक सुचना प्रणालीलाई त्यो अनुसार स्तरोन्नति गरिएको छ।’

अन्तर्राष्ट्रिय रुपमा भुक्तानी प्रणाली सुचारु नभएकाले तत्कालै विद्युतिय भिसा जारी गर्न नसकेपनि इन्टरनेशनल पेमेन्ट गेटवे सञ्चालन हुन वित्तिकै विद्युतिय भिसा जारी गर्न सकिने उनले बताए।

विदेशीले नेपाली पोर्ट लग इन गरी भिसा एप्लाइ गर्न सक्ने तथा क्रेडिट कार्ड स्वाव गरेर पैसा तिर्न सकिने उनले जानकारी दिए। त्यसरी तिरेको पैसा महालेखा नियन्त्रकको कार्यालयले तोकेको खातामा जम्मा हुने पनि उनले जानकारी दिए।

यसरी एप्लाइ गरेको व्यक्तिलाई अध्यागमन विभागले यहीँबाट हेरेर भिसा स्वीकृत/अस्वीकृत गर्न सक्ने र स्वीकृत भएको खण्डमा विभागले जारी गरेको इलेक्ट्रोनिक ट्राभल औथराइजेशन बोकेर नेपाल आउनसक्ने महानिर्देशक भट्टराईले बताए। यात्रुको इलेक्ट्रोनिक ट्राभल अथोराइजेशन हेरेर नेपालको प्रवेश विन्दुमा नेपालको भिसा स्टिकर उपलब्ध गराउन सकिने उनले बताए।

अध्यागमन विभागको यो सेवाबाट पर्यटकहरुले नेपालमा सहज रुपमा भिसा प्राप्त गर्नसक्ने र पर्यटन क्षेत्रको समेत विकास हुने महानिर्देशक श्रेष्ठले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad