अधिवक्ताहरुले अदालतमा बहसको क्रममा इजलासको मर्यादा जोगाउन अपिल गरेका छन्।
१० जना अधिवक्ताहरुले विज्ञप्ति जारी गर्दै अदालतको फैसला परिपालना गर्ने राजनीतिक दलहरुको प्रतिवद्धता कायम राख्न र बहसको क्रममा इजलासको मर्यादा जोगाउन अपिल गरेका हन्।
नेपालको संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठनका लागि राष्ट्रपतिको आव्हान मुताविक परेका दुवै दाबी अस्वीकृत भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा भएको प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध परेका रिट निवेदनमाथि सर्वोच्च अदतलमा बहस भइरहेको समयमा उनीहरुको विज्ञप्ति आएको हो।
'कानून व्यवसायी केवल पक्ष वा विपक्षका प्रतिनिधि मात्र हैनन, अपितु न्यायप्रणालीका अभिन्न अंग पनि हुन । मुद्दा तथा मुद्दाका पक्षहरू समय, काल र परिस्थिति अनुसार परिवर्तन भइरहन्छन तर कानून ब्यावसायीको मर्यादा अपरिवर्तनीय हुन्छ', विज्ञप्तिमा भनिएको छ, 'विपक्षीको अनुहार, पद र चरित्र हेरेर कानून व्यवसायीले मर्यादाको मानक बनाउने होइन, बरू संविधान, कानून तथा सिद्धान्तको आधारमा कानून व्यवसायीको आचारसंहिताको परिधिभित्र रहेर पक्षको हितार्थ लड्नु चाहिं कानून ब्यावसायीको धर्म हो।'
आफू पक्ष रहेको मुद्दाका विपक्षीलाई सार्वजनिक रूपमा सल्लाह दिने कार्य कानून व्यवसायीहरूको आचरण र आचारसंहिता विपरितको कार्य भएको उनीहरुको भनाई छ।
अदालतमा बहसका क्रममा कानून व्यवसायीहरूबाट जे जस्ता विम्ब तथा शब्दहरूको प्रयोग भए त्यसले कानून व्यवसायीको प्रतिष्ठा नै स्खलन गराउने उनीहरुले बताएका छन्।
विज्ञप्ति जारी गर्ने अधिवक्ताहरुमा रामशरण घोरसाइने, यज्ञराज थापा, विशाल न्यौपाने, निर्मल कुमार उप्रेति,निरव ज्ञवाली, पुष्कर घिमिरे, लक्ष्मी तमाङ, सुजन पाण्डे, सुजन रिजाल र विश्व भण्डारी छन्।

प्रतिक्रिया