गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री कुमार खड्काले प्रदेशलाई सडक मानवमुक्त बनाउने घोषणा गरेका छन्। उनले कोभिडबाट अभिभावक गुमाएका बालबालिकालाई नगद राहत उपलब्ध गराउने निर्णयसमेत गरेका छन्।
आइतबार मन्त्रालयमा पदभार गर्दै उनले यस्तो निर्णय गरेका हुन्। सडकमा कोही पनि नागरिकले बास बस्नुपर्ने अवस्था नरहोस् भनेर यस्तो निर्णय गरिएको खड्काले बताए । ‘सबै नागरिकको बाँच्न पाउने अधिकार छ । संविधानले दिएका अधिकार सरकारले उपलब्ध गराउनुपर्छ,’ मन्त्री खड्काले भने, ‘मानव सेवा आश्रमहरु जस्ता संस्थासँग सहकार्य गरेर सडकमा भएका नागरिकलाई आश्रममा राख्ने र त्यसको दायित्व प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेका छौं।’
सरकारले नीति तथा कार्यक्रम र बजेटबाट कोरोना भाइरसका कारण बाबु आमा गुमाएका बालबालिकालाई ५ हजारका दरले मासिक राहत उपलब्ध गराउने घोषणा गरेको थियो । यसलाई कार्यान्वयनको चरणमा अघि बढाइएको छ।
‘लागत निकालेर शीघ्र उनीहरुको खातामा पैसा पठाउने निर्णय गरेका छौं, हामीसँग आँकडा छैन । पहिले त्यो निकाल्नुप¥यो,’ उनले भने, ‘कार्यविधिमा अरु कुरा खुलाइन्छ । संविधानले तोकेको समूहलाई बालबालिका मानेर हामी सहयोग रकम दिनेछौँ।’

प्रतिक्रिया