नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशौं महाधिवेशन आयोजक कमिटी विघटन गर्ने भएका छन्।
बुधबार आयोजक कमिटीको बैठक बोलाएर त्यसैमा आयोजक कमिटीको विघटन गर्ने तयारी ओलीले गरेका हुन्।
'बुधबार बस्ने आयोजक कमिटीले अध्यक्ष ओलीले एकताका लागि अघि सार्नु भएको ६ बुँदे प्रस्तावलाई अनुमोदन गर्ने र केन्द्रीय कमिटीको बैठक बोलाउने छ' एमाले केन्द्रीय सदस्य विष्णु रिजालले नेपालखबरसँग भने, 'त्यसपछि केन्द्रीय कमिटीको बैठक बस्ने छ।'
रिजालका अनुसार बुधबारै नभए बिहीबार केन्द्रीय कमिटीको बैठक बस्ने छ।
बुधबार बस्ने बैठकले पार्टी अध्यक्षको आह्वान र पार्टी एकताको भावना अनुसार पार्टीलाई साविक कै केन्द्रीय कमिटीमा फर्काउने भनेर निर्णय गर्ने रिजालले बताए।
यसबाट एकताको स्प्रीटलाई सम्बोधन हुने र अदालती झन्झटबाट पनि मुक्त हुने उनको भनाई छ।
प्रधानमन्त्री ओलीले केही समयअघि एकताका लागि ६ बुँदे आह्वान गरेका थिए।
जसमा मुलत २०७५ जेठ ३ गतेको नेकपा एमालेको कमिटी ब्युँत्याउने भनिएको थियो।
तर असन्तुष्ट रहेको माधवकुमार नेपाल पक्षले भने त्यसलाई अस्वीकार गरेको थियो।
नेपाल पक्षले माओवादीसँग एकीकरण गर्नुअघि अर्थात २०७५ जेठ २ गतेको कमिटी ब्युँत्याउनु पर्ने माग गर्दै आएका छन्।
सर्वोच्च अदालतले दशौं महाधिवेशन आयोजक कमिटीलाई अवैधानिक भनि फैसला गरेपछि ओली पक्षलाई उक्त कमिटी कानुनी रुपमा अघि बढाउन पनि अफ्ठ्यारो परेको थियो।
आयोजक कमिटीको गठन प्रति नेपाल पक्षले असन्तुष्टि जनाउँदै आएको थियो।
उनीहरुले फागुन २३ मा सर्वोच्च अदालतको आदेशपछि भएका अध्यक्ष ओलीले एकलौटी रुपमा निर्णय गरेको भन्दै आरोप लगाउँदै आएका छन्।
चैत ७ गते पूर्व माओवादीबाट एमाले आएका नेताहरुलाई समेत राखेर आयोजना गरिएको केन्द्रीय कमिटीको बैठकले २ सय ६४ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो।
यो पनि :
ओलीले भनेको जेठ ३ र नेपालले खोजेको जेठ २ मा के फरक छ?
Shares

प्रतिक्रिया