नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रसंगवश ‘अहिलेको राष्ट्रपतिभन्दा त बरु राजाकै अलिकति इज्जत र मान थियो’ भनेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा हौसिएका छन्।
थापाले ‘प्रचण्डले सही भन्नुभयो’ भन्दै राजतन्त्र फर्काउन आग्रह गरेपछि पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले त्यसरी नहौसिन चेतावनी दिएका छन्।
थापाले ट्विट गरेका छन्, ‘प्रचण्डजीले सही भन्नुभयो। हाम्रोजस्तो सामाजिक चेतना र भूराजनीतिक अवस्था भएको देशमा पार्टीगत आधारमा निर्वाचित राष्ट्रपतिबाट निष्पक्ष र गरिमामय भूमिका निर्वाह हुन सक्दैन। त्यसर्थ, देशको शान, मान र हितको रक्षार्थ संवैधानिक राजसंस्था कायम गरौं। यो असल कामको पहल गर्नुहोस्।’
यसको जवाफमा डा. भट्टराईले लेखेका छन्, ‘जसले जुन सन्दर्भमा जे मनसायले भने पनि ‘राजामा शान, मान र इज्जत थियो’ भन्ने कुरा सत्य हैन र यो सुनेर इतिहासबट बिदा भइसकेको राजतन्त्रका हिमायहिमायतीहरू पनि हौसिन जरूरी छैन।गणतन्त्रको विकल्प अझै उच्च स्तरको लोकतान्त्रिक गणतन्त्र हो, कुनै पनि रूपको राजतन्त्र हैन।जनतामा भ्रम छर्ने काम नगरौं।’
फाइल तस्बिर : माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड
आखिर के भनेका थिए, प्रचण्डले?
केही दिनअघि सम्पादकहरूसँग अन्तरक्रियामा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले यसो भनेका रहेछन् :
‘हेर्नुस् त अहिले त राष्ट्रपति त कस्तो भयो? अहिले त राष्ट्रपति भनेको संस्था त यत्ति! (एकछिन रोकिएर मुख बिगार्दै) यो भन्दा त राजाहरू हुँदा थियो नि एउटा शान, अहिले त शान पनि छैन, मान पनि छैन। इज्जत नि छैन। कस्तो भयो त हामीले बनाएको संस्था! राष्ट्रपति त संस्था हो नि!’

प्रतिक्रिया