राजनीति


शिक्षामन्त्रीको कदम निन्दनीय, घरबाटै छुवाछूत अन्त्य अभियान थालौंः विवेकशील साझा युवा संगठन

शिक्षामन्त्रीको कदम निन्दनीय, घरबाटै छुवाछूत अन्त्य अभियान थालौंः विवेकशील साझा युवा संगठन

नेपालखबर
असार १०, २०७८ बिहिबार ४:३८,

विवेकशील साझा पार्टीको भ्रातृ संगठन विवेकशील साझा युवा संगठनले जातीय विभेदको पक्ष लिएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको निन्दा गरेको छ।

संगठनका महासचिव सरोज गौतमले विज्ञप्ति जारी गरी राज्यले नै पीडकको पक्ष पोषण गरेको भन्दै आपत्ति जनाएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘प्रहरीले जातीय विभेदका उजुरी नलिने, पीडकलाई नै तथाकथित राजनीतिक दलका अगुवाहरूले मिलापत्र गर्न दबाब दिने र न्यायालय पुगेका मुद्दाहरूलाई समेत ठूलाठालुहरूले प्रभावमा पार्ने घटनालाई माथ दिँदै संघीय सरकारको मन्त्रीले न्यायिक निरूपणमा परेका पीडित पक्षलाई आहत हुने गरी गरेका गतिविधिप्रति हामी घोर निन्दा गर्न चाहन्छौँ।’

हेर्नुहोस्, विज्ञप्तिको पूर्ण पाठः

जातीय विभेदका घटनामा राज्यको असंवेदनशीलता भर्त्सनायोग्य
कहालीलाग्दो रुकुम नरसंहारमा देखिएको जातीय विभेदको दानवीय पराकाष्ठाको घटनाको न्यायिक प्रक्रिया चलिरहेकै बेला देशैभरि र खासगरी काठमाडौँलगायतका सहरहरूमा बारम्बार दोहरिएका विभिन्न घटनाहरूमा विवेकशील साझा युवा संगठनको गम्भीर ध्यानाकर्षण भएको छ।

बहुलवादी लोकतान्त्रिक गणतन्त्र अंगीकार गरेको एक्काइसौँ शताब्दीको नेपाली समाजमा मानिसले मानिसलाई मानिसको जस्तो व्यवहार गर्न नसक्नु त दुःखद विडम्बना हो नै तर राज्यले सदियौँदेखि पछि पारिएका समुदायको भर्खर सुनिन थालेको आवाज दबाउने गरी पीडककै पक्षपोषण गरेको दृष्टान्त भयंकर लज्जास्पद छ।

प्रहरीले जातीय विभेदका उजुरी नलिने, पीडकलाई नै तथाकथित राजनीतिक दलका अगुवाहरूले मिलापत्र गर्न दबाब दिने र न्यायालय पुगेका मुद्दाहरूलाई समेत ठूलाठालुहरूले प्रभावमा पार्ने घटनालाई माथ दिँदै संघीय सरकारको मन्त्रीले न्यायिक निरूपणमा परेका पीडित पक्षलाई आहत हुने गरी गरेका गतिविधिप्रति हामी घोर निन्दा गर्न चाहन्छौँ।

सामाजिक न्याय र समानुपातिक समावेशिताको जगमा मात्रै समतामूलक समृद्धि हासिल हुने र राज्यले हरेक नागरिकलाई सहानुभूति दिलाउन सक्छ भन्ने विश्वास राख्ने विवेकशील साझा युवा संगठन सरकारलाई यथाशीघ्र जातीय छुवाछुतका मुद्दा दर्ता प्रक्रिया छरितो र सहज बनाउन, सहरी क्षेत्रमा हुने छुवाछुत जन्य व्यवहारहरूलाई कानुनको दायरामा ल्याउन र मुलुकको संविधानले सुनिश्चित गरेका समानता, छुवाछुतविरुद्धको हकलगायतका मौलिक हकहरूको पूर्ण कार्यान्वयन गर्न अग्रसरता लिन सरकारसँग माग गर्दछ।

साथै घर र समाजबाट नै जातीय छुवाछुतको मानसिकता र व्यवस्थाकै समूल अन्त्यका लागि नागरिक पहलको नेतृत्व लिन आम नेपाली युवा पंक्ति, नागरिक समाज तथा युवा संघ/संगठनसँग हार्दिक अपिल गर्दछ।

सरोज गौतम
महासचिव
विवेकशील साझा युवा संगठन
२०७८ असार ९ गते 

यी पनि :

रूपा सुनारलाई जातीय भेदभाव गर्नेलाई छुटाउने शिक्षामन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग

रूपा सुनार घटना: बृहत् नागरिक आन्दोलनद्वारा शिक्षामन्त्री श्रेष्ठको घोर भर्त्सना

जातीय विभेद गर्ने घरबेटी छुटाउन शिक्षामन्त्री नै गएपछि कांग्रेस प्रवक्ताको प्रश्न

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad