नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन लागि भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन्।
बंगलादेशको राजधानी ढाकाबाट मध्यान्ह काठमाडौं ओर्लिएका जयशंकरलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।
जयशंकरलाई भारतका लागि नेपाली राजदूत नीलाम्वर आचार्य, नेपालमा लागि भारतीय राजदूत मञ्जिलसिंह पुरीले पनि स्वागत गरेका थिए। आज अपरान्ह ३ बजे याक एण्ड यति होटलमा नेपाल भारत संयुक्त आयोगका बैठकमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेशमन्त्री जयशंकरले सह अध्यक्षता गर्नेछन्।
३२ वर्षअघि स्थापना भएको आयोगको यो पाँचौ बैठक हो। बैठकमा नेपाल भारतबीच रहेको तीन दर्जन संयुक्त संयन्त्रले प्राप्त गरेका उपलब्धि र समस्याहरुबारे छलफल हुने छ। सीमा क्षेत्रका डुबान, सीमा समस्या, बढ्दो व्यापार असन्तुलन, विभिन्न परियोजनाहरुमा भएको प्रगतिबारेमा आयोगमा छलफल हुनेछ।
नेपालमा रहँदा जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। भारतीय विदेश मन्त्रीको रुपमा जयशंकरको यो पहिलो नेपाल भ्रमण हो। बंगलादेशका दुई दिने भ्रमण सम्पन्न गरेर बिमान बंगलादेशबाट उनी काठमाडौं आएका हुन्।

प्रतिक्रिया