गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार विश्वासको मत लिँदैछन्।
त्यस अघि आज साँझ ६ बजे मन्त्रिपरिषदको बैठक बस्दै छ। सत्ता पक्ष र विपक्षी दुवैको गण्डकीमा बहुमत पुग्दैन।
६० सदस्यीय प्रदेश सभामा सत्तापक्षको स्वतन्त्र सांसद दीपक मनाङे र जनमोर्चाका कृष्ण थापासहित जोड्दा २९ संख्या पुग्छ।
विपक्षी गठवन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीका सांसदसहित संख्या ३० पुग्छ।
प्रदेश सभामा बहुमत पुर्याउन ३१ सदस्य आवश्यक पर्छ। त्यसका लागि माओवादी केन्द्रबाट सभामुख बनेका नेत्रनाथ अधिकारीको राजीनामा विपक्षीसँग विकल्प रहेको छ।
यस अघि आज नै विपक्षी गठबन्धनले प्रदेश प्रमुख सीता पौडेललाई भेटेर कानुन विपरित नजान आग्रह गरेका छन्।
जनमोर्चा सांसद थापाले पार्टी ह्वीप विपरित गुरुङ सरकारको पक्षमा उभिएका थिए। त्यसपछि पार्टीले उनलाई कारबाही गरे पनि सर्वोच्च अदालतले पुनर्स्थापित गरेको थियो।
थापाको सांसद पद गएको भए विपक्षी मोर्चा संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार बनाउने हैसियतमा हुन्थ्यो।
संविधानको धारा १६८ को उपधारा ३ अनुसारको यो सरकारले बहुमत शिद्ध नगरे उपधारा ५ आकृष्ट हुने र कसैले पनि बहुमत शिद्ध गर्न नसके उपधारा ७ अनुसार सदन विघटन र चुनावमा जाने सम्भावना नै बढी रहेको छ।
प्रदेश सभमा बहुत पुर्याउने प्रयत्न रहने माओवादी केन्द्रका सांसद दीपक कोइरालाले बताए। 'त्यसो हुन सकेन भने गण्डकी प्रदेश मध्यावधिमा जाने छ, 'चुनाब भैहाले पनि विपक्षी गठबन्धनबीच मोर्चा बनाएरै अघि सैद्धन्तिक सहमति रहेको छ।'

प्रतिक्रिया