राष्ट्रिय सभामा लुम्बिनी प्रदेशबाट निर्वाचित राष्ट्रिय सभा सदस्य दृघ नारायण पाण्डेयले पद तथा गोपनीयताको शपथ लिएका छन्।
उनलाई राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा शपथग्रहण गराएका हुन्।
लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको जेठ १७ गते भएको उपनिर्वाचनबाट उनी निर्वाचित भएका हुन्।

लुम्बिनी प्रदेशबाट माओवादी उम्मेदवारको रुपमा निर्वाचित चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि खड्कालाई पार्टीले कारबाही गरेको थियो।
कारबाहीपछि दलत्याग ऐनअनुसार उनको पद रिक्त भएपछि सो पदमा उपनिर्वाचन हुँदा एमालेबाट खड्का र विपक्षी दलहरुको गठबन्धनबाट पाण्डेय उम्मेदवार थिए।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष, एमालेको माधव नेपाल पक्ष र जनमोर्चा मिलेर बनेको विपक्षी गठबन्धनले वागमतीमा एमालेको माधव नेपाल पक्षका डा. खिमलाल देवकोटालाई जिताएको थियो भने लुम्बिनीमा कांग्रेसका उम्मेदवार पाण्डेयलाई विजयी बनाएको थियो।

वागमती र लुम्बिनी दुवै प्रदेशमा ओली नेतृत्वको एमाले उम्मेदवारले पराजय भोगेका छन्।
निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेशसभा सदस्य, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्रका आधारमा पनि मतदान गर्न सकिने छ।

प्रतिक्रिया