ad ad

राजनीति


सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाउलान् विश्वासको मत?

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाउलान् विश्वासको मत?

गोकुल जोशी
जेठ २४, २०७८ सोमबार १४:१५,

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका छन्। सोमबार नै विश्वासको मत लिने तयारी गरे पनि नियमले नमिल्ने भएकाले मंगलबारका लागि सारिएको छ।

मुख्यमन्त्री भट्टले त्यससम्बन्धी पत्र आइतवार नै प्रदेश संसद सचिवालयमा दर्ता गराएका थिए। प्रदेशसभाको नियम अनुसार दर्ता गरेको ४८ घण्टा पुग्नुपर्ने नियम छ।

सरकारले सोमवार पेश गरेको अगामी आर्थिक वर्ष २०७८/०७९ को पूर्वबजेटमाथिको छलफल जारी रहेकाले सो सकेर मुख्यमन्त्री भट्टले संसदमा विश्वासको मत लिने तयारी गरेका एक सांसदले बताए।

नेकपा (एमाले) को ओली पक्षले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री भट्ट अल्पमतमा परेका छन्। ओली समूहले १० जेठमा सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। यद्यपी नेपाल–खनाल समूहको बहुमत रहेको एमाले प्रदेश संसदीय दलले भने १२ जेठमा समर्थन यथावत राख्ने निर्णय गरेको थियो।

विश्वासको मत पाउने र आफू नेतृत्वको सरकार यथावत रहनेमा मुख्यमन्त्री भट्ट ढुक्क देखिएका छन्।

‘विश्वासको मत पाउनेमा हामीहरु ढुक्क छौँ। सरकार ढल्दैन।’ माओवादी केन्द्रका सांसद महेशदत्त जोशीले नेपालखबरसँग भने, ‘एमालेको नेपाल–खनाल समूह सरकारमा सहभागी छ। उसले विश्वासको मत प्रदान गर्छ।’

यस्तो छ अंक गणित
५३ प्रदेश सभा सदस्य संख्या रहेको सुदूरपश्चिममा एमाले र माओवादी केन्द्रको गठबन्धन सरकार छ। सबैभन्दा ठूलो दल नेकपा एमालेसँग सभामुखसहित २५ सांसद छन्।

एमालेको नेपाल–खनाल समूह प्रदेश सभामा बलियो छ। नेपाल–खनाल समूहमा १५ जना सांसद छन् भने ओली समूहमा ९ जना सांसद देखिएका छन् ।

यस्तै माओवादी केन्द्रका १४ सांसद भए पनि अहिले उसँग १३ जना सांसद मात्रैै छन्। माओवादी केन्द्रबाट विजयी अछामका झपड बहादुर बोहरा एमालेमा प्रवेश गरे पछि उनको सांसद पद गुमेको थियो। प्रदेश सभामा नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ सांसद छन्।

मुख्यमन्त्री भट्टलाई सरकार जोगाउन २७ सांसद आवश्यक पर्छन्। यद्यपी विश्वासको मत लिँदा २८ मत आफ्नो पक्षमा झर्ने माओवादी केन्द्रको अनुमान छ।

‘एमालेको नेपाल–खनाल समूह सरकारमै भएकाले विश्वासको मत सजिलै प्राप्त गर्छौ’ माओवादी केन्द्रका एक सांसदले भने, ‘एमालेका १५ सांसदले विश्वासको मत दिने अनुमान हामीले गरेका छौँ।’

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले एकता आह्वान गर्दै २०७५ जेठ ३ मा फर्किने घोषणा गरेको अवस्थामा नेपाल समूह संस्थापन पक्षको निर्णय मान्न तयार भए मुख्यमन्त्री भट्टले विश्वासको मत गुमाउने छन्। यद्यपी यसो हुने सम्भावना न्यून रहेको नेपाल–खनाल समूहकै सांसद दाबी गर्छन्।

के गर्ला कांग्रेस ?
मुख्यमन्त्री भट्टलाई नेपाली कांग्रेसले विश्वासको मत दिने नदिने विषयमा निर्णय भइनसकेकाे जनाएकाे छ। कांग्रेस सुदूरपश्चिमका प्रमुख सचेतक गोबिन्द बोहराले आफूहरु अहिले विश्वासको मत दिने पक्षमा नरहेको दाबी गरे।

‘विश्वासको मत दिने भनेर हामीलाई जानकारी आएको छैन। प्रदेश सभामा पेश गरिएको प्रि–बजेटमाथि छलफल जारी नै छ’ उनले भने, ‘अहिले हामी विश्वासको मत दिने पक्षमा छैनौँ। यसबारेमा पार्टीभित्र थप छलफल भइरहेको छ।’

नेपाल–खनाल समूहकै भर
माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकार बचाउन एमालेको नेपाल–खनाल समूहले भूमिका खेल्ने माओवादी सांसदहरुको आकलन छ । प्रदेश सभामा एमालेको संस्थापन (ओली) समूह मुख्यमन्त्री भट्टको नेतृत्वको सरकार ढाल्न सक्रिय देखिए पनि नेपाल–खनाल समूह त्यसको विपरित उभिएको छ।

१० जेठमा ओलीको अध्यक्षतमा बसेका एमालको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

तर स्थायी कमिटीको निर्णय विपरित नेपाल–खनाल समूहको बाहुल्यता रहेको प्रदेश संसदीय दल समर्थन यथावत राख्ने र मन्त्रिमण्डल विस्तार गर्दै सरकारमा सहभागिता बढाउने निर्णय गरेको थियो। अहिले ११ सदस्यीय मन्त्रिमण्डलमा नेकपा एमालेका ४ मन्त्री र ३ राज्यमन्त्री छन्।

समर्थन कायम राख्ने निर्णय गरेर सरकारमा सहभागी भएकाले विश्वासको मत दिनु पर्ने पक्षमा नेपाल–खनाल समूह सांसद रहेको एक सांसदले बताए।

प्रदेश संसदीय दलमा बहुमतमा रहेको नेपाल–खनाल समूहले विश्वासको मत दिन ह्विप जारी गरे ओली समूह अप्ठ्यारोमा पर्ने सांसदहरुको विश्लेषण छ।

उता ओली समूह भने पार्टीको निर्णय अनुसार चल्नु पर्ने अडानमा छ।

‘पार्टीले समर्थन फिर्ता लिएको छ। एमालेबाट विजयी सांसदले पार्टीको उक्त निर्णय कार्यान्वय गर्नु पर्छ’ ओली समूहका सांसद पठान सिंह बोहराले भने, ‘सबैभन्दा ठूलो पार्टी हो। पार्टीको निर्णय अनुसार अगाडि बढ्नु सबैलाई उत्तम हुन्छ।’

याे पनि : 

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने

सुदूरपश्चिममा ओलीको निर्णय किन भयो ‘फेल’?

सुदूरपश्चिम एमालेमा ओली र नेपाल समूहबीच ‘कारबाहीको होडबाजी’

ओली पक्षले मुख्यमन्त्रीको राजीनामा माग्दा नेपाल-खनाल समूह प्रतिरक्षामा!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .