महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरीले सरकारले यसअघि नै बनाएका नीति तथा योजनालाई कार्यान्वयन गर्नु आफ्नो प्राथमिकता रहेको बताएकी छन्।
आइतबार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री चौधरीले सरकारले बनाएका नीति तथा योजना जुन कार्यान्वयन हुन सकेका छैनन् ती कामहरुलाई कार्यन्वयन गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताइन्।
उनले महिला, बालबालिका तथा जेष्ठ नागरिकले सरकारबाट पाउनुपर्ने सेवा सुविधालाई छिटो र सहज रुपमा दिलाउन पनि आफूले जोड दिने बताइन्।
उनले महिला, बालबालिका, जेष्ठ नागरिक तथा एकल महिलाले राज्यबाट पाउने सुविधा कतिपय स्थानीय निकायको ढिलासुस्तीले गर्दा समयमै नपाएको गुनासोहरु आएको भन्दै आफ्नो सेवा प्रवाहलाई दुरुस्त राख्न आग्रह गरिन्।
‘मेरो कार्य योजना, नीतिगत कामहरु त छदैँछन्। तर कस्तोलाई प्राथमिकता दिने, धेरै योजना बनाएर मात्रै होइन, जुन बनेको योजनालाई पनि कसरी सकारात्मक रुपले त्यो समस्यालाई समाधान गर्ने, धेरै योजनाहरु बनाउँछौ तर कार्यान्वयन हुन्छ कि हुँदैन त्यसमा जोड दिन जरुरी छ', उनले भनिन्, 'म विश्वास दिलाउँछु, जुन नीतिहरु बनिसकेको छ। जुन कार्यान्वयन भईसकेको छैन। त्यसमा बढी नै जोड दिएर गर्नेछौँ। धेरै चिज बनाएर एकैचोटी यो गर्छु, त्यो गर्छु नभनौं।'
चौधरीले समाजमा रहेका विभिन्न कुरिति अन्त्यका लागि ५ वर्षे रणनीतिक कार्ययोजनाको फाइल सदर गरेर कार्यभार सम्हालेकी हुन्।
कार्यभार सम्हाल्दै उनले देशमा विद्यमान दाइजो प्रथा र बालविवाह अन्त्यका लागि काम गर्ने पनि बताइन्।

प्रतिक्रिया