संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटरेसले नेपाली सेनाका अधिकृत सह सेनानी विज्ञान विष्टलाई प्रशंसा पत्र प्रदान गरेका छन्।
दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको श्री कालीध्वज गण (शासे) दशौं डफ्फाका सह सेनानी विष्टलाई कदर स्वरुप प्रशंसा पत्र प्राप्त भएको जंगी अड्डाले जनाएको छ।
२०७७ मंसिर १० गते ‘टेम्पोररी अपरेटिङ बेस (टीओबी) क्युबेट’ नजिक दुई जातिका हतियारधारी समूहहरुबीच उत्पन्न जातीय हिंसात्मक झडपमा तत्काल तनाबग्रस्त ईलाकामा परिचालन भई बफर जोनको रुपमा कार्य गरी ठुलो जनधनको क्षति हुनबाट जोगिएको थियो।
जातिय हिंसात्मक झडप हुन नदिन छोटो समयमा लिएको अदम्य साहस र पहलताका कारण सम्भावित ठूलो जातीय हिंसालाई रोक्न सफल भएकोमा उक्त कार्यको कदर स्वरुप उनलाई राष्ट्रसंघीय महासचिवबाट प्रशंसा पत्र प्राप्त भएको हो।
जातीय द्वन्द्वका कारण नरसंहारबाट गुज्रेको उक्त मुलुकमा यस प्रकारका घटनाको पुनरावृत्ति हुनबाट जोगाउन नेपाली शान्ति सैनिकहरुले पुर्याएको योगदानलाई संयूक्त राष्ट्र संघबाट उच्च प्रशंसा भएको सेनाले जनाएको छ।

प्रतिक्रिया