राजनीति


पौडेल समूहको बैठकमा कसले के भने?

पौडेल समूहको बैठकमा कसले के भने?

नेपालखबर
जेठ १९, २०७८ बुधबार १३:४८,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको संस्थापन इतरका केन्द्रीय सदस्यको बैठकले निर्धारित समयमै महाधिवेशन गर्नु पर्ने निष्कर्ष निकालेको छ।

वुधबार भर्चुअलरुपमा बोलाएको बैठकमा बोल्ने नेताहरुले पौडेलले महाधिवेशनको बारेमा दिएका दुई विकल्पबारे पनि प्रश्न उठाएका थिए।

बैठकमा सहभागी एक नेताका अनुसार पौडेलले विशेष महाधिवेशनको विकल्प दिएको भन्दै त्यसबारे प्रश्न गरेका थिए। केही दिन अघि पौडेलले महाधिवेशनका दुई विकल्प अघि सारेका थिए।

त्यसबारे पौडेलले आफूले पछिल्लो समय विशेष महाधिवेशनको कुरा छोडेको प्रष्ट्याएका थिए। उनले मापदण्ड बनाएर क्रियाशील सदस्यता छानवीन गर्नुपर्ने बताएका थिए।

'महाधिवेशनको बारेमा मैले बोलिरहेको छु,' उनको भनाई उदृत गर्दै एक नेताले भने, 'साथीहरुले पनि सशक्तरुपमा आवाज उठाउनु पर्यो।'

महामन्त्री शशांक कोइरालाले कम्प्रमाइज गरेर भए पनि महाधिवेशन गर्नु पर्ने तर्क गरे। उनले १३ औं महाधिवेशनका क्रियाशील सदस्यतलाई कामय गरेर नेतृत्व चयन गर्न सकिने र अहिलेका क्रियाशील सदस्य स्वत अर्को महाधिवेशनका लागि जान सकिने बताए।

उनले कोरोना महामारीका कारण भीड गर्न नसकिने अवस्थामा नेतृत्वका लागि जिल्लाबाटै केन्द्रमा भोट गर्न सकिने व्यवस्था मिलाउन सकिने बताए।

प्रकाशमान सिंहले साँच्चै महाधिवेश गर्ने हो भने क्रियाशील सदस्यता छानविन गरेर टुंग्याउनु पर्ने बताए। उनले अन्य पार्टीबाट आएकाहरुको विषय पनि टुंग्याउन पर्ने बताए।

'यी सबै विषयहरु टुंग्याए पछि कसरी महाधिवेशन हुन्न?', उनले प्रश्न गरे। बैठकमा अर्जुननरसिंह केसीले महाधिवेशन गर्ने बाहेक अन्य कुरामा आफ्नो सहमति नरहेको बताए।

महामारीको समय सबै विधि पुरा गर्न सकिँदैन भने १३ औं महाधिवेशनका प्रतिनिधिबाट भए पनि महाधिवेशन गर्नु पर्ने उनको भनाई थियो।

रामशरण महतले पनि निर्धारित समयमै महाधिवेशन गरेर नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका थिए। अर्का नेता मीनेन्द्र रिजालले पनि अझै समय रहेकोले महाधिवेशनमा जोड गरे।

गगन थापाले यो समयमा सबै प्रक्रिय पुरा गर्न नसकिने बताउँदै प्रक्रिया छोट्‍याएर महाधिवेशन गर्ने विधि खोज्नुपर्ने बताए। उनले सभापति शेरबहादुर देउवालाई यही सुझाव दिन पौडेललाई आग्रह गरे।

प्रदीप पौडेलले क्रियाशील सदस्यताको काम टुंग्याउन सकिए महाधिवेशनको आधाकाम सकिने बताएका थिए। उनले अहिलेकै कार्यतालिका अनुसार महाधिवेशन गर्नु पर्ने बताए।

नेपाली कांग्रेसमा २ नम्बर प्रदेशका केही जिल्लामा क्रियाशील सदस्यको विषय टुंगोमा पुगेको छैन।

कांग्रेसको महाधिवेशन भदौ ७-१० का लागि निर्धारित छ। कांग्रेसलाई संवैधानिक संकटबाट जोगाउन महाधिवेशन गर्न पर्ने बाध्यता छ। तर पार्टी भित्र क्रियाशील सदस्यता लगायतका विषयमा विवाद छ।

भर्चुअल बैठकमा कृष्ण सिटौलालाई  बोलाइएको भए पनि उनी सहभागी थिएनन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad