आजका लागि बोलाइएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ।
आज अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक भोलि साेहि समयमा बस्ने गरी सरेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले नेपालखबरलाई बताए।
यसअघि एमाले स्थायी कमिटी बैठक मंगलबार बसेको थियो। मंगलबारको बैठकले माधव नेपाल लगायतका केहि नेताहरु पार्टीमा नफर्कने निष्कर्ष निकालेको थियो।
दुई पटक स्थगित भई मंगलबारमात्र बैठक बसेको थियो।
यता माधव नेपाल समूहकै दोस्रो पुस्ताका नेताहरुलाई एमालेमै फर्काउने प्रयासस्वरुप सघन वार्ता भइरहेका बेला स्थायी कमिटीको बैठक स्थगित भएको हो।
नेताहरु घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भटराईसँग अहिले ओली पक्षले निरन्तर वार्ता गरिरहेको छ। भूसाल-पाण्डे लगायतका नेताहरुलाई स्पष्टीकरण सोधिए पनि उनीहरुविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएकाे छैन।
पार्टी बैठक बसेर उनीहरुविरुद्ध कारबाही गर्न सक्ने अनुमान भइरहेका बेला बैठक नै स्थगित गर्नुलाई अर्थपूर्णरुपमा लिइएको छ।

प्रतिक्रिया