विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाको अवस्था अत्यन्त जटिल रहेको उनको परिवार र निकटस्थहरुले जनाएका छन्।
कोरोना संक्रमण भई नेपाल मेडिसिटी अस्तपालमा भेन्टिलेटरमा रहेका थापाको उपचारको क्रममा उपलब्ध सबै विधिको प्रयोग गरिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।
‘उज्वल थापा कोरोना भाइरसबाट संक्रमित भई करिब दुई हप्तादेखि ह्याम्स, ग्रान्डी अस्पताल लगायतका अस्पतालमा उपचार गराई विगत तीन दिनदेखि नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको तपाईंहरूलाई अवगतै छ,’ उज्वल थापाको परिवार, साथी तथा शुभेच्छुकहरूको तर्फबाट विवेकशीलका विजयबाबु शिवाकोटीद्वारा वितरित जानकारीमा भनिएको छ, ‘यस क्रममा अहिले अस्पतालमा ईसीएमओ प्रविधिको सहयोगमा विशेषज्ञहरुबाट, अस्पतालभन्दा बाहिरका विशेषज्ञहरूको राय सल्लाहलाई समेत मध्यनजर गर्दै, उहाँको उपचार भैरहेको भए तापनि उज्वलको अवस्था जटिल हुँदै गएको छ। उहाँको उपचारको क्रममा उपलब्ध सबै विधिहरूको प्रयोग गरेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी गराउनु भएको छ।’
यस विषम परिस्थितिमा धैर्य धारण गरी संयमताका साथ उज्वलको लागि साथ, सहयोग दिनुहुने र अनवरत प्रार्थना गरिरहनु भएका उज्वलका साथी, शुभेच्छुक तथा आफन्तजन सबैप्रति आफूहरु कृतज्ञ रहेको सो जानकारीमा उल्लेख छ।
‘तपाईंहरूले व्यक्त गर्नुभएको सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि हामी आभारी छौँ,’ त्यसमा भनिएको छ।

प्रतिक्रिया