सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा विघटन भएपछिको पछिल्लो अवस्थाबारे पूर्वसभामुखहरुसँग छलफल गरिरहेका छन्।
बानेश्वरस्थित संसद भवनमा गरिएको छलफलमा चारजना सहभागी भएका छन्।
त्यसमध्ये एकजना तारानाथ रानाभाट भने भर्चुअल (अनलाइन) माध्यमबाट सहभागी छन्।
सो बैठकमा पूर्वसभामुखहरु रामचन्द्र पौडेल, कृष्णबहादुर महरा र ओनसरी घर्तिमगर बानेश्वरस्थित बैठकमै उपस्थित भएका छन् भने तारानाथ रानाभाट अनलाइनमा भिडिओमार्फत् सहभागी भएका हुन्।
पूर्वसभामुख सुवास नेम्वाङले आफ्नो पूर्वनिर्धारित कार्यक्रम भएकोले बैठकमा उपस्थित नहुने जवाफ सापकोटालाई दिएको बताएका छन्।
प्रतिनिधि सभा विघटन भएपछिको पछिल्लो अवस्थाबारे सभामुख सापकोटाले २०४८ देखिका पूर्व सभामुखहरुसँग परामर्श गरेका हुन्।
सरकारले जेठ ८ गते राति प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको थियो।
त्यसलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते दुई चरणमा निर्वाचन घोषणा गरेपछि सो विघटन असंवैधानिक रहेको भन्दै सापकोटाले जेठ ८ गते विज्ञप्ति नै जारी गरेका थिए।
२०४६ मा प्रजातन्त्र पुनस्र्थापनापछि २०४८ बाट सुरु भएको संसदीय अभ्यासयता दमननाथ ढुंगाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्तिमगर, कृष्णबहादुर महरा र अग्निप्रसाद सापकोटा सभामुख बनेका छन्।

प्रतिक्रिया