ad ad

राजनीति


राप्रपाले भन्यो– कोरोना महामारीबीच स्वतन्त्र र निष्पक्ष निर्वाचन हुन सक्दैन

राप्रपाले भन्यो– कोरोना महामारीबीच स्वतन्त्र र निष्पक्ष निर्वाचन हुन सक्दैन

नेपालखबर
जेठ ९, २०७८ आइतबार ११:५३,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोरोना महामारी नियन्त्रण नगरी स्वतन्त्र र निष्पक्ष निर्वाचन हुन नसक्ने बताएको छ।

‘कोरोना महामारीको विषम परिस्थितिमा अहिले देशलाई चुनावमा धकेलिएको छ, यस्तो डरलाग्दो महामारीबीच चुनावमा कसरी जाने भन्ने गंभीर प्रश्न खडा भएको छ,’ राप्रपाले भनेको छ, ‘कोरोना महामारी नियन्त्रण नगरी स्वतन्त्र र निषपक्ष चुनाव हुन सक्दैन।’

राप्रपा नेता मोहन श्रेष्ठका अनुसार आइतबार बसेको राप्रपा केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले सो निष्कर्ष निकालेको हो। 

‘तसर्थ राज्यको सम्पूर्ण शक्ति र स्रोत परिचालन गरी कोरोना महामारी नियन्त्रण गर्न, आम नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने अभियान तत्काल प्रारम्भ गर्न तथा चुनाव हुने वैधानिक र व्यवहारिक परिस्थिति निर्माण भएमा सर्वदलीय सहमतिको आधारमा चुनाव निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न राप्रपा सरकारसंग माग गर्दछ,’ बैठकको निर्णयमा भनिएको छ।

सत्तारुढ दलको आन्तरिक विवाद, प्रमुख विपक्षी दलको अकर्मण्यता तथा बारम्वार भइरहेको संविधानको अवहेलनाको परिणाम स्वरूप फेरि दोस्रो पटक प्रतिनिधि सभा विघटन हुन पुगेको राप्रपाको ठहर छ।

राप्रपाले विगत केही वर्षयताका घटनाक्रमहरूका कारण वर्तमान संविधान र व्यवस्थाको औचित्यमाथि नै बारम्वार गम्भीर प्रश्नचिन्ह खडा भएको जनाएको छ।

‘अहिले देशमा जुन परिस्थितिको बिकास भएको छ, त्यसको मूलजरो कथित बाह्र बुँदे सहमति, सो समझदारीको जगमा खडा गर्न खोजिएको राजनीतिक प्रणाली, हिन्दुराष्ट्र र राजसंस्थालाई षडयन्त्रपूर्वक हटाउने कार्य तथा सो परिवर्तनका संवाहकहरूको सत्तालिप्सा र आमजनता प्रतिको उपेक्षा हो,’ सो पार्टीको दाबी छ।

नेपाली जनताको अभिमत र शक्तिबाट ती कमजोरी र विकृतिको समाधान खोज्न सकिन्छ भन्ने बिश्वासको कारण राप्रपा सिद्धान्ततः चुनावको पक्षमा रहेको सो पार्टीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .