नेपाली कांग्रेससहितका पाँच दलले संसद् विघटनविरुद्ध मुद्दा दर्ता गर्न भोलि सोमबार मात्र सर्वाेच्च अदालत जाने भएका छन्।
कांग्रेसका एक नेताका अनुसार भोलि सुरुमै अदालतमा मुद्दा दर्ता गर्न जाने तयारी छ।
आजै सर्वाेच्च जाने तयारी भए पनि १ सय ४९ जना सांसदकै व्यक्तिगत रुपमा नागरिकतासहित जानुपर्ने भएकोले केहीको नागरिकता प्राप्त गर्न समय लागेपछि भोलि अदालत खुल्नेबित्तिकै दर्ता गराउने ती नेताले बताए।
जेठ ७ गते १ सय ४९ सांसदको हस्ताक्षर लिएर कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपति कार्यालय पुगेका थिए।
तर, राष्ट्रपति विद्यादेवी भण्डारीले दाबी नपुगेको भन्दै सो निवदेन खारेज गरेर संसद् विघटन गरेपछि कांग्रेससहितको ५ दलले असंवैधानिक कदमविरुद्ध सर्वाेच्च जाने हिजो निर्णय गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते संसदमा विश्वासको मत लिने परिस्थिति नबनेको भन्दै मार्गप्रशस्तै गर्ने र ७६ (५) अनुसारको सरकार गठनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई लेखिपठाएका थिए।
सोही आधारमा राष्ट्रपतिले ७६ (५) अनुसारको सरकार बनाउन २१ घण्टाको समय अर्थात् जेठ ७ गते बेलुका ५ बजेसम्मको समय दिएकी थिइन्।
सो समयमा कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन १ सय ४९ सांसदले हस्ताक्षर राष्ट्रपति कार्यालयमा दर्ता गरेका थिए।
तर, त्यही बेला प्रधानमन्त्री ओलीले समेत आफ्नो पक्षमा १ सय ५३ सांसदको समर्थन रहेको दाबी गरेपछि दुवै दाबीलाई राष्ट्रपतिले खारेज गरेकी थिइन्।
त्यसलगत्तै सरकारको सिफारिसमा राष्ट्रपतिले मध्यराति संसद भंग गरेकी थिइन्।
राष्ट्रपति र प्रधानमन्त्रीको सो कदम असंवैधानिक भएको ठहर गर्दै अधिवक्ताहरुले रिट दायर गर्न लागेका हुन्।

प्रतिक्रिया