प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमणविरुद्धको खोपका लागि पाँचवटा देशसँग कुरा गरिरहेको बताएका छन्।
पत्रकारसँगको अन्तर्क्रियामा आइतबार बोल्दै प्रधानमन्त्री ओलीले खोपका लागि भारत, चीन, बेलायत, रुस र अमेरिकासँग छलफल गरिरहेको जानकारी दिएका हुन्।
उनले भने, ‘अब हाम्रो ध्यान रोग सर्न नपाओस्, सर्यो भने त्यसको उपचार गर्ने हो। तर नसरोस् भन्नका लागि खोप ल्याउन भारत, चीन, बेलायत, रुस र अमेरिकासँग कुरा गरिरहेका छौँ। खोप ल्याउने क्रम जारी छ। हामी ल्याउँछौँ।’
उनले यसअघि भ्याक्सिन तत्काल सम्भव नभएको उल्लेख गर्दै भारत सँगसँगै लगाउन सुरु गरेको दाबी गरे।
‘भारत र चीनबाट १८ लाख खोप अनुदानमा पायौँ’, उनले भने ।
अहिले पनि अरु स्वास्थ्य सामग्रीहरु औषधि, सिलिन्डरलगायतका सामग्रीहरु ल्याउने तयारी गरिरहेको उनको भनाइ छ।
त्यसका लागि संयुक्त राष्ट्रसंघ, विश्व बैंकलगायत विकास साझेदारसँग कुरा गरिरहेको उनले बताए।
‘सरकार यसमा केन्द्रित छ, निजी क्षेत्रलाई पनि साथ लिएर लगेका छौँ’, उनले आश्वस्त पार्दै भने, ‘म सबैलाई नआत्तिन आग्रह गर्दछु। हामी साथसाथ सबै काम गर्नेछौँ।’
‘अक्सिजनको समस्या समाधानको चरणमा पुग्यो’
यसैबीच, प्रधानमन्त्री ओलीले अक्सिजनको समस्यामा समाधानको अन्तिम चरणमा रहेको बताएका छन्।
पत्रकारहरुसँगको अन्तर्क्रियामा प्रधानमन्त्री ओलीले भ्यान्टिलेटरको समस्या अहिले नभएको दाबी गरे।
‘अक्सिजनको समस्यामा लगभग समाधान गरेको छ। भ्यान्टिलेटरको समस्या छैन’, ओलीले भने, ‘अक्सिजनको सिलिन्डरको समस्या भएपछि विमानमा हालेर ल्यायौँ। त्यसैले एउटै सिलिन्डरको मूल्य पचासौँ हजार रुपैयाँ गर्न पाएको छ। तर जीवनभन्दा अन्य कुरा ठूलो होइन।’
महामारी नियमित प्रक्रिया नभएको तर्क गर्दै उनले विकसित देशमा समेत महामारीको समयमा समस्या आएको भन्दै नेपालमा पनि समस्या देखिनु अस्वाभाविक नभएको तर्क गरे।
उनले सबै सरकार, राजनीति दल, नागरिक समाज सबै कोरोनाविरुद्ध लाग्नुपर्ने बताए।
उनले दोस्रो चरणमा कोरोना सुरु हुनुमा राजनीतिक, धार्मिक र सांस्कृतिक तथा खुला सीमा भएको बताए।
‘खुला सीमाको कारण अन्य देशमा ग्राफ बढ्ने हाम्रोमा पनि ग्राफ बढ्ने र अन्य देशमा घट्दा हाम्रोमा पनि घट्ने गरेको छ’, ओलीले भने।
Shares

प्रतिक्रिया