राजनीति


प्रधानमन्त्रीज्यू ! तपाईंको ताल देखेर दुनियाँ हाँसेको छ : कांग्रेस प्रवक्ता

प्रधानमन्त्रीज्यू ! तपाईंको ताल देखेर दुनियाँ हाँसेको छ : कांग्रेस प्रवक्ता

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार १३:४७,

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको शैली देखेर दुनियाँ हाँसेको टिप्पणी गरेका छन्।

संसदमा आफ्नो बहुमत छैन भनेर विश्वासको मतबाट भागेका प्रधानमन्त्रीले फेरि मसँग बहुमत छ भनेर दाबी गर्दा लाज स्वयं लजाएको टिप्पणी शर्माले गरेका हुन्।

शर्माले शुक्रबार साँझ भनेका छन्, ‘बहुमत छैन भनेर विश्वासको मतबाट भागेका प्रधानमन्त्रीले बहुमत छ भनेर फेरि दाबी गर्दा दुनियाँ हाँसेको छ! लाज स्वयं लजाएको छ!’

यसैगरी उनले प्रधानमन्त्री ओलीलाई साथ दिएर राष्ट्रपति विद्यादेवी भण्डारीले पनि राष्ट्रपति संस्थाप्रतिको विश्वास र गरिमा रसतालमा पुर्याएको टिप्पणी गरेका छन्।

उनले भनेका छन्, ‘राष्ट्रपति महोदया! सतिसालको शिरमा हुनुपर्ने यहाँप्रतिको श्रद्धा बकैनाको फेदमा झरिसक्यो! अलमलको गोलमालमा संस्थाको गरिमा ओह्रालो अझै कति लगाउनुहुन्छ?’

यसअघि संविधानको धारा ७६ उपधारा २ अनुसार विपक्षी दलले बहुमतको सरकार बनाउन नसकेपछि धारा ३ अनुसार संसदमा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओली दोस्रोपटक प्रधानमन्त्रीमा नियुक्ति पाएका थिए। त्यसको ३० दिनपछि प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्नेमा ओलीले आफूलाई पहिलेझैं बहुमत नपाउने स्पष्ट रहेको भन्दै एकैचोटि उपधारा ५ अनुसार राष्ट्रपतिलाई बिहीबार साँझ फेरि नयाँ सरकार गठनका लागि आह्वान गर्न लगाए।

त्यसअनुसार आज तोकिएको समयसीमा (अपराह्न ५ बजे) भित्र सत्तारूढ एमालेकै माधव नेपाल पक्षका सांसदसमेतको समर्थनमा विपक्षी गठबन्धनबाट कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूसँग बहुमत १४९ सांसदको हस्ताक्षरसहित आफूलाई प्रधानमन्त्री पदमा नियुक्ति दिन राष्ट्रपतिसमक्ष दाबी पेस गरेका छन्। दिउँसो पत्रकार सम्मेलन गरी आफूसँग बहुमतै नरहेको भन्दै विश्वासको मत नलिएको बताएका प्रधानमन्त्री ओलीले पनि देउवासँगै आफूसँग झन् १५३ सांसद साथमा रहेको दाबी गर्दै फेरि आफैंलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिकहाँ दाबी पेस गरेका छन्।

जसले गर्दा कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी अन्योलमा परेकी छन्। उनले कानुन हेरेर यस विषयमा निर्णय गर्ने बताएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad