नेपाल चिकित्सक संघको पहलमा काठमाडौंको कमलपोखरीमा १०० शय्याको आइसोलेसन सेन्टर स्थापना गरिएको छ।
नेपाल चिकित्सक संघ, अमेरिका नेपाल मेडिकल फाउण्डेसन र ओम आदी फाउण्डेसनले संयुक्त रुपमा कमलपोखरीस्थित अग्रवाल भवनमा १०० शय्याको आइसोलेसन सेन्टर बनाएका हुन्।
चिकित्सक संघले आइसोलेसन अथवा क्वारेन्टिनको आवश्यकता परेमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ। यसको अलावा कोभिड १९ का विरुद्ध अहोरात्र खट्ने चिकित्सकहरुलाई खानाको व्यवस्था गरिएको, मास्क आवश्यक हुनेहरुका लागि मास्क बैंकको स्थापना गरिएको पनि चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताए।
केही दिनमै कोभिड १९ को सम्बन्धमा एक हजार जनालाई तालिम दिन लागिएको पनि उनले जानकारी दिए। चिकित्सक संघले कोभिड संक्रमण भई होम आइसोलेसनमा बसेकाहरुका लागि आवश्यक स्वास्थ्य सल्लाह र उपचार प्रक्रियामा सहजीकरण गर्नका लागि कल सेन्टर समेत सञ्चालन गरेको छ।
एनएमए हटलाइन नम्बर ११५६ मा कल गरी स्वास्थ्य परामर्श लिन सकिने जनाइएको छ। कल सेन्टर जेठ ७ गते दिउँसो ३ बजेदेखि ८ बजेसम्म र त्यसपछि हरेक दिन बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन गरिएको नेपाल चिकित्सक संघका महासचिव बद्री रिजालले जानकारी दिए।

प्रतिक्रिया