राजनीति


आफैं बहुमतको सरकार दाबी गर्ने तयारीमा प्रधानमन्त्री ओली

आफैं बहुमतको सरकार दाबी गर्ने तयारीमा प्रधानमन्त्री ओली

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार ६:५,

नयाँ सरकार गठनका लागि ‘मार्गप्रशस्त’ गरेका प्रधानमन्त्री केपी शर्मा ओली आफैंले बहुमतको सरकार दाबी गर्ने तयारी गरेका छन्।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षको साथ लिएर बहुमत सरकार बनाउने तयारी एमाले अध्यक्ष ओलीले गरेका हुन्।

जसपाको संसदीय दलको बैठकले निर्णय गरेलगत्तै प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ (५) अनुसार बहुमत सदस्यको हस्ताक्षर लिएर बहुमत सरकारको दाबी गर्न राष्ट्रपतिसमक्ष जाने तयारी ओलीले गरेका हुन्।

जसपाको ठाकुर–महतो पक्षको संसदीय दलको बैठक अहिले सिंहदरबारमा जारी छ।

‘प्रधानमन्त्रीले आजै बहुमत सांसदको हस्ताक्षर लिएर सरकारको दाबी गर्नु हुनेछ,’ एमालेका केन्द्रीय सदस्य तथा सांसद महेश बस्नेतले नेपालखबरसँग भने, ‘नयाँ सरकार बनाउने विषयमा जसपासँग करिब–करिब सहमति भइसकेको छ। ठाकुर– महतो संसदीय दलमा बहुमतमा हुनुहुन्छ। संसदीय दलबाट निर्णयपछि यो काम हुन्छ।’

त्यसो त बिहीबार राति नै प्रधानमन्त्री ओली, जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरिसकेका छन्। राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुअघि प्रधानमन्त्री ओलीले ठाकुर र महतोसँग छलफल गरेका थिए।

ठाकुर–महतोले कम्तीमा २१ सांसद आफ्ना पक्षमा हुने विश्वास प्रधानमन्त्री ओलीलाई गराएका छन्।

‘जसपाका नेताहरूले २४ जनाको समर्थन हुन्छ भन्नुभएको छ, तर कम्तीमा २१ भने रहने बताउनुभएको छ। महतोलाई संसदीय दलको नेता चुन्दा पनि त्यो संख्या देखियो,’ ओलीनिकट एक नेताले नेपालखबरसँग भने।

यसअघि संविधानको धारा ७६ (३) अनुसार संसदमा सबैभन्दा ठूलो पार्टी (एमाले) को संसदीय दलको नेताको हैसियतमा दोस्रोपटक प्रधानमन्त्री बनेका ओलीले नियुक्तिको ३० दिनभित्र फेरि संसदबाट विश्वासको मत लिनुपर्नेमा त्यो नपाउने निश्चित देखिएपछि उनले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने बताएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसका लागि बिहीबार साँझ विज्ञप्ति जारी गरी दलहरूलाई आज अपराह्न ५ बजेसम्मको समय दिएकी हुन्।

यसरी प्रधानमन्त्रीले विश्वासको मत नलिँदै र राजीनामा नदिँदै एकैचोटि संविधानको धारा ७६ (५) को प्रक्रिया सुरु गरिनु संविधान मिच्नु हो भन्दै अहिले संविधानविददेखि दलका नेतासम्मले आलोचना गरिरहेका छन्। यसलाई कतिपयले फेरि प्रतिनिधि सभा विघटन गर्ने षडयन्त्र भनिरहेका बेला प्रधानमन्त्री ओली आफैं बहुमतको सरकार बनाउन कस्सिएका हुन्। 

तर सरकार पक्षले भने ‘मार्गप्रशस्त’ भनेकै पद त्याग हो भन्ने दाबी गरेको छ।

प्रधानमन्त्री ओलीले आफूलाई असफल पार्न आफ्नै पार्टीका माधव नेपाल पक्षबाट खतरा देखेका छन्। बिहीबार मात्रै नेपाल पक्षकै कारण एमालेका उम्मेदवार राष्ट्रिय सभा सदस्यको उपचुनावमा निवर्तमान गृहमन्त्री रामबहादुर थापा पराजित भएका छन्।

नेपाल पक्षले यस्तै खाले कदम चाले प्रधानमन्त्री ओली संसद विघटनको बाटोमा जान पनि सक्ने उनीनिकट नेताहरू बताउँछन्।

‘नीति तथा कार्यक्रम वा बजेट असफल बनाउने कुनै गतिविधि नेपाल पक्षबाट भए प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गर्नु हुनेछ,’ ओलीनिकट एक नेताले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad