राजनीति


कोरोना नियन्त्रणबारे के भन्छन् विज्ञ र सरोकारवाला?

कोरोना नियन्त्रणबारे के भन्छन् विज्ञ र सरोकारवाला?

नेपालखबर
जेठ २, २०७८ आइतबार ९:४२,

कोभिड–१९ संक्रमितको उपचारमा अक्सिजन तथा अक्सिजन सिलिण्डरको चरम अभाव भएको भन्दै अक्सिजन तथा अक्सिजन सिलिण्डरको व्यवस्थापन गर्न सरकारलाई सुझाव दिइएको छ।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीका कारण उत्पन्न संकट समाधानका विषयमा विज्ञ तथा निजी क्षेत्रका व्यक्तिहरुसँग छलफल गरेका थिए। सो छलफलमा बोल्दै विभिन्न क्षेत्रका व्यक्तिहरुले दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको र गम्भीर बिरामी पनि बढेको भन्दै अक्सिजन र अक्सिजन सिलिण्डरको बन्दोबस्तमा सरकार गम्भीर हुनुपर्ने बताएका हुन्।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले कतिपय जिल्लामा कतै अक्सिजन हुने सिलिण्डर नहुने र कतै सिलिण्डर हुने अक्सिजन नहुने समस्या रहेको भन्दै यस्तो समस्या हल गर्न ध्यान दिनुपर्ने बताए। उनले अक्सिजन आयात गर्न सरकारले भारत सरकारसँग सम्वाद गर्नुपर्ने बताए।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले अक्सिजन फ्याक्ट्रीमा आफ्नो कम्पनीको सिलिण्डर भए भरिदिने र अर्को कम्पनीको भए नभरीकन फिर्ता पठाउने गरिएको भन्दै जुनसुकै कम्पनीको भएपनि भर्ने व्यवस्था गर्नुपर्ने बताए। अक्सिजनको आवश्यकता पुर्ति गर्नका लागि जि टू जि मार्फत् आयात गर्नुपर्नेमा उनले जोड दिए।

होम आइसोलेसनमा बस्नेहरुका लागि सल्लाह, सुझाव दिनको लागि चिकित्सकहरुको मोबाइल टिम बनाउनुपर्ने उनको भनाइ छ। चेम्बरले ३०० थान अक्सिजन सिलिण्डर मगाएको र तीन/चार दिन भित्र सरकारी अस्पताललाई दिइने पनि उनले जानकारी दिए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले स्वास्थ्य संकटकाल लगाउनेबारे सोच्नुपर्ने बताए। स्वास्थ्य संकटकाल घोषणा गरे विश्वको ध्यान नेपालतिर आउने र प्राथमिकताको साथ उपचार गर्न सकिने उनको भनाइ छ। अमेरिकी सरकारसँग नेपाल सरकारले अनुदान अथवा किनेरै भएपनि ल्याउने गरी भ्याक्सिन माग्नुपर्ने पनि बताए। डाक्टर पढिरहेका अन्तिम वर्षका विद्यार्थीहरुलाई अस्पतालमा काम गर्न लैजानुपर्ने पनि उनले बताए।

वरिष्ठ चिकित्सक चक्रराज पाण्डेले विरामीको अवस्था हेरेर अस्पताल भर्ना गरिनुपर्ने बताए। अनावश्यक भर्ना भएका विरामीहरुलाई भन्दा अतिआवश्यक अवस्थाका विरामीहरुलाई अस्पतालमा भर्ना गरेमा बचाउन सकिने उनको भनाइ छ।

गैर आवासीय नेपाली संघका पूर्वअध्यक्ष उपेन्द्र महतोले तत्कालै २० हजार अक्सिजन सिलिण्डर र ५०० भेन्टीलेटर सरकारले ल्याउनुपर्ने बताए। ठुलो अक्सिजन प्लान्ट तत्कालै बनाउनुपर्ने आवश्यकता रहेको पनि उनको भनाइ छ।

वरिष्ठ चिकित्सक डा. भगवान कोईरालाले अक्सिजन उत्पादनमा काम गर्ने मानिसहरुलाई भ्याक्सिन तथा जोखिम भत्ताको व्यवस्था गर्नुपर्ने बताए। बढीभन्दा बढीलाई भ्याक्सिन लगाउनुपर्नेमा उनको जोड छ। ९२ प्रतिशत कोरोना संक्रमित घरमै बस्ने गरेको भन्दै उनले चिकित्सकहरुले होम आइशोलेसनमा बसेकाहरुलाई सल्लाह सुझाव दिन नसकेकाले होम आइशोलेसनमा बस्नेहरुको लागि टेलिभिजनमार्फत् जानकारीमुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लकडाउनलाई प्रभावकारी बनाउनुपर्ने बताए। घरमा आइशोलेसनमा बस्दा संक्रमण फैलिने खतरा भएकाले आइशोलेसन सेन्टरको संख्या बढाउनुपर्ने उनको भनाइ छ। परीक्षणको दायरा बढाउनुपर्ने, आईसीयू र भेन्टीलेटरको जनशक्ति बाहिरी जिल्लामा पनि पठाउनुपर्ने तथा हाईफ्लो अक्सिजन लिनुपर्ने बिरामीको लागि सुविधा सम्पन्न अस्पतालमा लैजाने व्यवस्था समेत गरिनुपर्ने उनको भनाई छ। अक्सिजन सिलिण्डर गायब गरिने गरेको भन्दै उनले प्रशासनले सिलिण्डर खोज्नुपर्ने पनि बताए।

अक्सिजन प्लान्ट निर्माणमा अनुदानको व्यवस्था गरेर निजी क्षेत्रलाई काम गर्न दिए छिटो निर्माण हुन सक्ने उनको भनाइ छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले तदारुकताका साथ काम गरिरहेको बताए। कोभिडको गम्भीर बिरामीलाई सिनियर डाक्टरले नहेरी जुनियर डाक्टरहरुले हेर्ने गरिएको भन्दै त्यसो गर्नु नहुनेमा सचेत गराए। मन्त्रालयले कोभिडको नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्यका पहिलेका कर्मचारीलाई फर्किन आग्रह गरिएको उनको भनाइ छ। लिक्विड अक्सिजन तुरुन्त खरिद गर्न सक्ने अवस्था नरहेको पनि उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले शनिबार सबै क्षेत्रका व्यक्तिहरुसँग कोभिड १९ रोकथाम तथा नियन्त्रणको सम्बन्धमा छलफल गरेका हुन्। प्रधानमन्त्री ओलीले अक्सिजनको आपुर्ति सहज बनाउने काममा लाग्न उद्योगी व्यवसायीलाई आग्रह गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad